महोत्तरीमा विद्यालय बस दुर्घटना, चालकसहित ६ जना घाइते

२०८३ श्रावण १९, मंगलवार ११:१७

जनकपुर, १९ साउन — महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

गौशाला–९ डुमरवानास्थित भित्री सडकमा इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस अचानक अनियन्त्रित भई सडक छेउको उखुबारीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक विजय भुजेल तथा पाँच विद्यार्थी घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी बीके अस्पताल गौशाला तथा अन्य स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?