वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ बस्ने बाराका ४१ वर्षीय गगन बहादुर स्याङतान, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाहीका २८ वर्षीय निर्जल बस्नेत र काठमाडौं टोखा नगरपालिका-५ बस्ने दाङका ३२ वर्षीय बल बहादुर चन्द ठकुरी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। गगन बहादुरलाई बिहीबार काठमाडौं महानगरपालिका-३ बाट, निर्जललाई शुक्रबार ललितपुर महानगरपालिका-३ बाट र बल बहादुरलाई शुक्रबार नै काठमाडौं महानगरपालिका-४ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, गगन बहादुरले माल्दिभ्स पठाइदिने भन्दै ४ जना पीडितबाट कुल ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। यस्तै, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख ९० हजार रुपैयाँ लिएको र बल बहादुरले क्रोएसिया पठाउने प्रलोभनमा एक जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। रकम लिई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेकामध्ये गगन बहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगी कार्यबाट जोगिन प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।






