जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरेसँगै उक्त पार्टी संघीयता विरोधी रहेको स्पष्ट भएको बताएका छन्।
उनले रास्वपा संघीयता र मधेश विरोधी पार्टी भएको दाबी गर्दै अघिल्ला निर्वाचनमा मधेशमा रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय मत प्राप्त गर्न नसकेको स्मरण गराएका छन्। उनका अनुसार मधेशी समुदायले रास्वपालाई विश्वास नगरेका कारण विगतका निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।
डा. राउतले गत फागुनमा सम्पन्न निर्वाचनमा भने बालेन साहको प्रभाव तथा संघीयता प्रतिको प्रतिबद्धताका कारण रास्वपाले मधेशमा अभूतपूर्व सफलता हासिल गरेको उल्लेख गरेका छन्। तर,निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता विपरीत महाधिवेशनबाट प्रदेश सभा खारेजीको प्रस्ताव पारित भएपछि मधेशी समुदायमा निराशा छाएको उनको भनाइ छ।
उनले मधेशी जनताले विगत ३६ वर्षदेखि कांग्रेस र कम्युनिस्ट सरकारबाट निरन्तर उपेक्षा र निराशा भोग्दै आएको उल्लेख गर्दै अहिले नयाँ राजनीतिक शक्तिबाट पनि फरक अनुभूति गर्न नसकेको चर्चा समाजमा हुन थालेको बताए। उनका अनुसार मधेशी जनतामाथि फेरि एकपटक राजनीतिक बेइमानी भएको महसुस गरिएको छ।
डा. राउतले ऐतिहासिक मधेश आन्दोलन पछि नेपालको संविधान मार्फत संघीय व्यवस्था र प्रदेश संरचना स्थापित भएको स्मरण गराउँदै मधेशी समुदायले प्रदेशलाई केवल प्रशासनिक इकाइका रूपमा नभई पहिचान,समानुपातिक समावेशी प्रतिनिधित्व,अधिकार र स्वायत्तताको आन्दोलनको उपलब्धिका रूपमा हेर्ने गरेको बताए।
उनका अनुसार प्रदेशको अस्तित्वमाथि प्रश्न उठ्दा मधेशी समुदायले त्यसलाई आफ्नो अधिकार,पहिचान,आत्मसम्मान र अस्तित्व माथिको संकटका रूपमा लिने गर्दछ।
यद्यपि,उनले संघीय शासन प्रणाली तथा प्रदेश संरचना सम्बन्धी अन्तिम निर्णय संविधान अनुसार आवश्यक राजनीतिक सहमति र संवैधानिक प्रक्रियाबाट मात्रै सम्भव हुने भएकाले कुनै एक राजनीतिक दलले प्रस्ताव पारित गर्दैमा तत्काल आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
डा. राउतले संघीयताप्रति प्रतिबद्ध सम्पूर्ण प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै रास्वपा जस्ता प्रतिगमनकारी शक्तिको पहिचान गरी कुनै पनि प्रकारको प्रतिगमन विरुद्ध संघर्ष गर्न तयार रहनुपर्ने बताएका छन्।






