जस्ताको टहरादेखि देशकै नमुना गन्तव्यसम्म: यसरी फेरियो काठमाडौँको नयाँ बसपार्कको रूपरेखा

२०८३ असार १५, सोमबार १२:३७

काठमाडौं। कुनै समय जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय निकै व्यवस्थित बन्दै गएको छ।

काठमाडौं महानगरपालिका-२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनी क्षेत्रफलमा फैलिएको यो बसपार्क विगतको तुलनामा निकै सफा र सुन्दर देखिएको छ।

काठमाडौँ महानगरपालिकाको पहल र जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)को प्राविधिक सहयोगमा निर्माण भएको उक्त बसपार्कमा टहरा र फोहर हटेसँगै यातायात सञ्चालन प्रणाली पनि चुस्त बन्दै गएको छ।

मुलुकमा सवारीसाधनको चाप दिनानुदिन बढ्दै गए पनि यहाँको प्रभावकारी ट्राफिक व्यवस्थापनका कारण कुनै भद्रगोल देखिँदैन। विगतमा टिकट काट्न जाने सर्वसाधारणलाई दुःख दिने बिचौलिया र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुने ठेलागाडाहरू पूर्ण रूपमा हटाइएका छन्।

यहाँ दैनिक बिहान र बेलुका विशेष सरसफाइ गरिन्छ भने ठुला बस तथा माइक्रोहरूलाई व्यवस्थित रूपमा मिलाएर पार्किङ गर्ने गरिएको छ।

महानगरपालिकाको स्वामित्वमा रहेको यो बसपार्क विसं २०५६ मा तत्कालीन नगरप्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक-निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर सञ्चालनमा ल्याइएको थियो।

लामो दूरीका बसलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ स्थापित यस बसपार्कको व्यवस्थापन विसं २०७१ देखि इन्जिनियर दीपक कुँवरले सम्हाल्दै आएका छन्।

सुरुमा ४५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ गर्न सकिने क्षमता रहेको यस बसपार्कलाई विसं २०७२ मा स्तरोन्नति गरी ८०० सवारीसाधन अट्ने बनाइयो।

इन्जिनियर कुँवरकै नेतृत्वमा बसपार्कभित्र एक नमुना बसपार्कका लागि आवश्यक पर्ने पूर्वाधारहरू जस्तै व्यवस्थित टिकट काउन्टर, पेट्रोल पम्प, सुविधासम्पन्न ल्होत्से मल, खाजा घर र अपांगमैत्री शौचालय निर्माण गरिएका छन्।

हरियाली वातावरणका लागि फलफूलका बिरुवा रोपिएको यस बसपार्कमा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा निःशुल्क इन्टरनेट सेवा समेत उपलब्ध गराइएको छ भने सुरक्षाका लागि प्रहरी प्रभाग र ट्राफिक प्रहरी वृत्त निरन्तर सञ्चालनमा छन्।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर कुँवरका अनुसार व्यवस्थापनको जिम्मा लिएको एक दशकभित्र महाविनाशकारी भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला आरोहअवरोह र चुनौतीको सामना गर्नु परेको थियो।

यति ठूलो क्षेत्रफल सफा राख्नका लागि मात्रै दैनिक ५० जना सरसफाइकर्मी खटिने गरेका छन् भने बसपार्क सञ्चालनका क्रममा सयौंले प्रत्यक्ष रोजगारी पाएका छन्।

ल्होत्सेले सम्झौताअनुसार काठमाडौँ महानगरपालिकालाई वार्षिक रूपमा एक करोडभन्दा बढी राजस्व बुझाउँदै आएको छ र सम्झौता अवधि सकिएपछि यी सबै संरचना महानगरलाई नै हस्तान्तरण हुनेछन्।

पछिल्लो समय टिकट काउन्टरका कर्मचारीहरूलाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था मिलाइएको छ। यद्यपि, बसपार्क छिर्ने मुखमा रहेको ल्होत्से मलले सुरक्षा चुनौती पनि खेपेको छ।

विसं २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा मलभित्र लुटपाट हुँदा सात करोड र विसं २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मलमा आगो लगाइँदा ३५ करोड गरी दुई पटकमा ठूलो आर्थिक क्षति भएको थियो।

हाल नयाँ बसपार्कबाट देशभरका ६० भन्दा बढी जिल्लाका लागि दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधन आवतजावत गर्दछन्। ल्होत्सेका महाप्रबन्धक पंकज मल्लका अनुसार दैनिक १० हजारभन्दा बढी यात्रुले यहाँबाट सेवा लिइरहेका छन्।

रातको समयमा आउने चालक, सहचालक र यात्रुहरूका लागि बसपार्कभित्रै खान र सुत्नका लागि होटल तथा लजको सुविधा छ। परम्परागत शैलीलाई विस्थापित गर्दै अहिले कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ।

जस्तै, पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले आफ्ना १०० भन्दा बढी सवारीसाधनमा सिसी क्यामरा र अनलाइन टिकटको व्यवस्था मिलाइएको जानकारी दिए, जसले गर्दा यात्रुहरू ठगिने डर कम भएको छ र घरमै बसेर सुरक्षित बुकिङ गर्न सहज भएको छ।

काठमाडौंका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका सवारीसाधनलाई नयाँ बसपार्कभित्रैबाट सञ्चालन गर्ने महानगरको नीतिका कारण केही समय अगाडि माछापोखरी क्षेत्रबाट चल्ने धादिङ, नुवाकोट र रसुवाका बसहरू पनि यहीँ भित्रिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर भने प्रत्येक वर्ष बस थपिँदै जाँदा बसपार्क केही साँघुरो हुँदै गएको बताउनुहुन्छ र यसलाई अझै नमुना बनाउन व्यवसायी, मजदुर र ल्होत्सेबीच सहकार्य हुनुपर्नेमा जोड दिन्छन्।

नयाँ बसपार्कको प्रभावले हाल गोंगबु, टोखा र माछापोखरी क्षेत्रमा झन्डै एक हजार होटल तथा १०० को हाराहारीमा डान्सबार र दोहोरी रेष्टुराँ सञ्चालनमा आई सो क्षेत्रको आर्थिक चलायमान निकै बढेको छ।

महानगरपालिका-२६ का वडाअध्यक्ष ख्यामराज तिवारीका अनुसार यस क्षेत्रबाट महानगरलाई वार्षिक करोडौँ राजस्व संकलन हुने गरेको छ। हाल प्रहरी वृत्त महाराजगञ्जअन्तर्गतको प्रहरी प्रभाग र सामुदायिक सेवा केन्द्रले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई अझै सुदृढ र भरपर्दो बनाएका छन्। अच्युत रेग्मी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?