रतौली युवा क्लब, सेभ द चिल्ड्रेन र पिपरा गाउँपालिकाको पहलमा ५० बिघा जमिनमा सिँचाइ आयोजना सञ्चालनमा

२०८३ आश्विन ११, आईतवार १४:१०

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–४, गोरियाही पोखरीमा करिब ५० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको सिँचाइ आयोजना सञ्चालनमा आएको छ। कृषकलाई वर्षायाममा मात्र निर्भर हुनुपर्ने बाध्यता हटाउँदै नियमित सिँचाइको व्यवस्था गर्ने लक्ष्यसहित निर्माण गरिएको आयोजनाको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

रतौली युवा क्लब, सब द चिल्ड्रेन (Save the Children) र पिपरा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा डिप बोरिङ, पम्पघर, चापाकल, विद्युतीकरण तथा कुलो निर्माण गरिएको जनाइएको छ। आयोजनाबाट करिब ५० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।

सिँचाइको अभावका कारण खेतीपातीका लागि वर्षात्को पानीमा निर्भर रहँदै आएका गोरियाही पोखरी क्षेत्रका किसानका लागि आयोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नियमित सिँचाइ सुविधा उपलब्ध भएपछि खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा समेत वृद्धि हुने विश्वास गरिएको छ।

कार्यक्रममा पिपरा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा, कृषक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले कृषि क्षेत्रको विकास र किसानको जीवनस्तर सुधारका लागि सिँचाइ पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

वक्ताहरूले सिँचाइ सुविधा विस्तारसँगै किसानले मौसम र वर्षाको पानीमा मात्र निर्भर हुनुपर्ने अवस्था अन्त्य हुने, समयमै खेती गर्न सहज हुने तथा कृषि उत्पादन बढाउन सहयोग पुग्ने धारणा राखेका थिए। साथै निर्माण भएका सिँचाइ संरचनाको संरक्षण र प्रभावकारी सञ्चालनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहनेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रममा आयोजनाबाट स्थानीय कृषकलाई हुने लाभ, सिँचाइ पूर्वाधारको संरक्षण तथा आगामी दिनमा कृषि क्षेत्रको विकासका लागि आवश्यक थप सहयोग र पूर्वाधार विस्तारका विषयमा समेत चर्चा गरिएको थियो।

करिब ५० बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने भएपछि गोरियाही पोखरी क्षेत्रका किसानमा उत्साह थपिएको छ। स्थानीय किसानले आयोजनाले खेतीपातीमा सहजता ल्याउनुका साथै उत्पादन र आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?