हनुमाननगर कंकालिनी नगरपालिकामा २३औँ राष्ट्रिय धान दिवस भव्य रूपमा सम्पन्न

२०८३ असार १५, सोमबार १८:५४

हनुमाननगर कंकालिनी,असार १५ — २३ औँ राष्ट्रिय धान दिवस तथा राष्ट्रिय रोपाइँ दिवसको अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले किसानको समृद्धिबिना राष्ट्रको समृद्धि सम्भव नहुने धारणा व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री महेश प्रसाद यादवले किसान समृद्ध नभएसम्म कुनै पनि देशले वास्तविक उन्नति,प्रगति र राष्ट्रिय समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो।

उहाँले किसानलाई राष्ट्रको आर्थिक मेरुदण्डको संज्ञा दिँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर राज्यले ठोस तथा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

पूर्वमन्त्री यादवले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनताले पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक शक्तिप्रति विश्वास व्यक्त गरेको उल्लेख गर्नुभयो। उहाँले बहुमत प्राप्त सरकारले जनताका आधारभूत आवश्यकता तथा समस्याप्रति पर्याप्त ध्यान दिन नसकेको आरोप लगाउनुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै यस्ता क्षेत्रमा करको भार कम गर्नुपर्ने बताउनुभयो। “स्वास्थ्य,शिक्षा,रोजगारी र आधारभूत आवश्यकतामा राज्यको पहुँच सुनिश्चित हुनुपर्छ,” उहाँले भन्नुभयो।

किसानका समस्या समाधानका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। आफूलाई विद्वान र सक्षम ठान्ने नेतृत्वले किसानका वास्तविक समस्या बुझ्न नसकेको उहाँको भनाइ थियो।

त्यस्तै,हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले नगरपालिकाले किसानको हितलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

उहाँले किसानका लागि कृषि विद्युतीकरण कार्यक्रम सञ्चालन गरिएको तथा कृषि प्रयोजनका विद्युत् महसुल समेत नगरपालिकाले व्यहोर्दै आएको जानकारी दिनुभयो।

“आगामी दिनमा पनि किसानका लागि थप योजनासहित काम गरिनेछ। कृषि क्षेत्रको विकास र किसानको हितलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ,” नगरप्रमुख माझीले बताउनुभयो।

२३ औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार तथा कृषि क्षेत्रको समग्र विकासका लागि राज्यका सबै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?