काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक विभिन्न सांगठनिक निर्णय गर्दै सम्पन्न भएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै बसेको बैठकले पार्टीको अनुशासन आयोगको नेतृत्वमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई चयन गरेको छ।
पार्टीको विधानअनुसार निर्वाचन, लेखा र अनुशासन आयोग जस्ता महत्त्वपूर्ण निकायहरू रिक्त राख्न नपाइने व्यवस्था छ। सोही प्रावधानलाई कार्यान्वयन गर्दै बैठकले अनुशासन आयोगको जिम्मेवारी कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा पौडेललाई सुम्पिएको हो।
यसैगरी, बैठकले लेखा आयोगको पुरानो समितिलाई विघटन गर्दै सोही टोलीलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। बैठकले पार्टीको प्रथम महाधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न उपसमितिहरू तथा सम्बद्ध सबै पक्षप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।
नयाँ कार्यसमितिको पहिलो बैठकले पार्टीको विधान पालना र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेर यी निर्णयहरू लिएको हो। रास्वपाले आफ्नो आन्तरिक लोकतन्त्र र अनुशासनलाई चुस्त बनाउन कानुनका अनुभवी व्यक्तिलाई जिम्मेवारीमा ल्याएको छ।






