मलङ्गवा, सर्लाही। सर्लाही क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धितर्फ अर्को महत्वपूर्ण फड्को मार्दै क्याम्पसमा डिजिटल स्मार्ट बोर्ड (Smart Board) मार्फत अत्याधुनिक पठनपाठन औपचारिक रूपमा सुरु गरेको छ।
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै शिक्षण सिकाइ प्रक्रियालाई समयानुकूल, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले क्याम्पसले स्मार्ट बोर्डसहितका डिजिटल कक्षाकोठा सञ्चालनमा ल्याएको हो।
क्याम्पस प्रशासनका अनुसार नयाँ प्रविधिको प्रयोगले विद्यार्थीलाई दृश्य–श्रव्य (Audio-Visual) माध्यमबाट विषयवस्तु बुझ्न सहज हुने, कक्षाकोठामा अन्तरक्रियात्मक सिकाइ वातावरण सिर्जना हुने तथा शिक्षण प्रक्रियालाई अझ प्रभावकारी र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्मार्ट बोर्डमार्फत शिक्षकले डिजिटल प्रस्तुतीकरण, भिडियो, एनिमेसन, ग्राफिक्स तथा अन्य शैक्षिक सामग्री प्रयोग गरी अध्यापन गर्न सक्नेछन्। यसबाट विद्यार्थीको सिकाइ क्षमता, सहभागिता र विषयवस्तुप्रतिको रुचिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास क्याम्पसले लिएको छ।
क्याम्पसले परम्परागत शिक्षण प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने लक्ष्यका साथ डिजिटल शिक्षण प्रणाली विस्तार गरिएको जनाएको छ।
सर्लाही क्याम्पसले आगामी दिनमा पनि सूचना प्रविधिमा आधारित शिक्षण सिकाइलाई थप विस्तार गर्दै शैक्षिक उत्कृष्टता कायम राख्न आवश्यक पूर्वाधार विकास, नवीन प्रविधिको प्रयोग तथा गुणस्तरीय शिक्षामा निरन्तर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






