सर्लाहीमै बीबीए पढ्ने बाटो खुल्दै ! टीयूको निरीक्षण टोली सर्लाही क्याम्पसमा, उच्च शिक्षाको नयाँ आशा

२०८३ असार २१, आईतवार १३:३८

मलंगवा, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा स्नातक तहको बीबीए (Bachelor of Business Administration) कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाइएको छ। यसैक्रममा त्रिभुवन विश्वविद्यालय (टीयू) बाट आएको निरीक्षण टोलीले बिहीबार क्याम्पसको स्थलगत निरीक्षण गरेको छ।

सर्लाही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजित कुमार यादवका अनुसार निरीक्षण टोलीले क्याम्पसको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षकहरूको उपलब्धता तथा बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भएको छ वा छैन भन्ने विषयमा विस्तृत अध्ययन गरेको हो।

स्ववियु सभापति यादवले सर्लाहीका विद्यार्थीहरू उच्च शिक्षाका लागि काठमाडौं, जनकपुर, विराटनगरलगायतका ठूला सहर जान बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै बीबीए कार्यक्रम सर्लाहीमै सञ्चालन हुन सके विद्यार्थीलाई आर्थिक तथा शैक्षिक रूपमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

उनले बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइने तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल जारी रहने पनि बताए। “हामी यो कार्यक्रम सर्लाहीमै सञ्चालन गराउन सम्पूर्ण सम्बन्धित निकायसम्म पुगेर आवश्यक पहल गर्नेछौं,” उनले भने।

यदि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएमा सर्लाही क्याम्पसमा बीबीए कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ। यसले जिल्लाका मात्र होइन, आसपासका जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय व्यवस्थापन शिक्षा आफ्नै क्षेत्रमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?