जनकपुरधाम। मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट (रेड बुक) मा युवासम्बन्धी कार्यक्रम तथा बजेट पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै युवा अभियन्ताहरूले मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
युवा अभियन्ता मो. नइम राईनको नेतृत्वमा गएको युवाहरूको प्रतिनिधिमण्डलले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेट संशोधन गरी युवाका कार्यक्रम समावेश गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा मधेश प्रदेशको कुल जनसंख्याको करिब ४० प्रतिशतभन्दा बढी हिस्सा युवाहरूको रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको रेड बुकमा युवालाई लक्षित कुनै पनि कार्यक्रम वा बजेट समावेश नगरिनु दुःखद भएको जनाइएको छ।
युवाहरूले विशेषगरी खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको युवा महाशाखाका लागि समेत कुनै बजेट विनियोजन नगरिनु सरकारको युवाप्रतिको उदासीनता भएको आरोप लगाएका छन्। नीति तथा योजनामा युवालाई प्राथमिकतामा राखिए पनि बजेटमा एउटा पनि शीर्षक समावेश नगरिनुले सरकारको गैरजिम्मेवार कार्यशैली उजागर भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
प्रतिनिधिमण्डलले प्रदेश सभाबाट बजेट पारित हुनुअघि नै रेड बुक संशोधन गरी युवाका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्रमार्फत युवाहरूले बजेट संशोधन गरी युवा शाखा तथा युवा लक्षित कार्यक्रमका लागि छुट्टै र पर्याप्त बजेट विनियोजन गर्न, प्रदेश युवा नीतिको मस्यौदा तत्काल स्वीकृत गरी कार्यान्वयनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न, लामो समयदेखि माग हुँदै आएको प्रदेश युवा परिषद् गठन प्रक्रिया अघि बढाउन तथा युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्वयंसेवा, उद्यमशीलता, नवप्रवर्तन र सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझाउँदै युवा अभियन्ता मो. नइम राईनले मधेश प्रदेशका लाखौँ युवाको भविष्य र अवसरसँग खेलबाड नगर्न सरकारलाई आग्रह गर्दै बजेट पारित हुनुअघि नै आवश्यक संशोधन गर्नुपर्ने बताए।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले युवाहरूले उठाएका माग तथा बजेटमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रदेश सभाबाट बजेट पारित हुनुअघि आवश्यक समन्वय र संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्।







