इलाम । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको ‘लाइफलाइन’ मानिने यो राजमार्ग अवरुद्ध भएको हो ।
सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तथा तराईका अन्य जिल्लासँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट पूर्ण रूपमा विच्छेद भएको छ।
राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र आफ्नो गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
यस अवरोधका कारण तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्ज्याङ क्षेत्रमै रोकिन पुगेका छन्।
गाडीहरू ठप्प भएपछि यात्रुहरू हिलो र जोखिमपूर्ण बाटो पैदलै पार गर्न बाध्य छन्। राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठुलो मारमा आकस्मिक उपचारका लागि तराई रेफर गरिएका बिरामीहरू परेका छन्।
पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा झापा वा विराटनगर लैजानुपर्ने बिरामीहरूलाई स्ट्रेचरमा बोकेर हिलाम्मे सडक पार गराउनुपर्ने दयनीय अवस्था सिर्जना भएको छ।
यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा ताजा तरकारी जस्ता कुहिने सामानहरू समयमै बजारसम्म पुर्याउन नपाउँदा स्थानीय व्यवसायी र किसानहरूले लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको छ।
सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरे पनि निरन्तरको वर्षाका कारण काममा ठुलो अवरोध पुगेको छ।
सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो मात्र पन्छाएर तत्काल सडक सुचारु गर्न सम्भव छैन। खोलाको बगरबाटै ठुलो ग्याबियन पर्खाल उठाएर नयाँ ट्र्याक निर्माण गरेपछि मात्रै यहाँ दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था छ।
मुख्य राजमार्ग ठप्प भएपछि बैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि यात्रु र चालकहरूले थप सास्ती भोग्नुपरेको छ। सवारी साधनहरूले बेलासे-इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजे पनि मेची करिडोर सडक अन्तर्गत पुवाखोलामा पुल नहुँदा साना तथा ठुला मालवाहक सवारी साधनहरू वारपार गर्न सकेका छैनन्।
बाढी र हिलोका कारण सो वैकल्पिक मार्ग पनि भरपर्दो हुन सकेको छैन। यद्यपि, स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट जिप र ट्याक्सी जस्ता साना सवारी साधनहरूलाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ।
तर, ग्रामीण सडक निकै साँघुरो र हिलाम्मे भएकाले साना गाडी चलाउन पनि उत्तिकै जोखिमपूर्ण छ। ठुला बस र मालवाहक ट्रकहरू पूर्ण रूपमा रोकिँदा यात्रुहरू साना गाडी परिवर्तन गर्दै र पैदल हिँड्दै कष्टकर यात्रा गर्न बाध्य छन्।






