काठमाडौं। देशभर चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ जम्मा ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा निकै कम हो, जहाँ गत वर्ष यस अवधिसम्म ४५ प्रतिशत रोपाइँ भइसकेको थियो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार यस वर्षको रोपाइँको दर गत वर्षभन्दा १२.६२ प्रतिशत विन्दुले घटेको देखिन्छ। नेपालमा रहेको कुल १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये हालसम्म ४ लाख ४३ हजार ५५९.०९ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
प्रदेशगत विवरणअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत र बागमती प्रदेशमा ३३.२ प्रतिशत रोपाइँ सकिएको छ।
कोशी प्रदेशमा हालसम्म ३१.५ प्रतिशत धान रोपाइँ भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ।
गत वर्षको सोही अवधिको तुलनात्मक तथ्यांक हेर्दा कोशी प्रदेशबाहेक अन्य सबै प्रदेशमा यस वर्ष रोपाइँको गति निकै सुस्त देखिएको छ।
गत वर्ष असार २२ गतेसम्म सुदूरपश्चिममा ६२.८ प्रतिशत, कर्णालीमा ६७.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत र मधेसमा २५.१ प्रतिशत धान रोपाइँ भइसकेको थियो।
कोशी प्रदेशमा भने गत वर्ष यस अवधिमा २९.५ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सामान्य सुधार भई ३१.5 प्रतिशत पुगेको छ।
कृषि विज्ञहरूका अनुसार यस वर्ष पर्याप्त मनसुनी वर्षा ढिलो गरी सुरु हुनु, कतिपय क्षेत्रमा भरपर्दो सिँचाइ सुविधाको अभाव हुनु तथा रोपाइँका लागि समयमै अनुकूल मौसम नबन्नु जस्ता कारणहरूले गर्दा धान रोपाइँ अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको हो।






