विद्यालयमाथि राजनीतिक कब्जाको प्रयास स्वीकार्य छैन : युवा अभियन्ता मनिष ठाकुर

२०८३ असार २५, बिहीबार २३:५३

महोतरी :मटिहानी नगरपालिका–स्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय, मझौरामा विद्यालय व्यवस्थापन समिति गठनको विषयले गम्भीर विवाद सिर्जना गरेको छ। यस घटनाप्रति युवा अभियन्ता मनिष ठाकुरले कडा आपत्ति जनाउँदै विद्यालयलाई राजनीतिक भर्ती केन्द्र बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन्।

ठाकुरले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई जानकारी नै नदिई, बन्द कोठाभित्र मिलेमतोमा समिति गठन गरिएको भन्ने आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले शिक्षा जस्तो पवित्र क्षेत्रलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउने कार्यले विद्यालयको भविष्य नै संकटमा पार्ने बताएका छन्।

उनले प्रश्न गरेका छन्, “यदि समिति गठन कानुनअनुसार भएको हो भने किन अभिभावकलाई जानकारी दिइएन? किन प्रक्रिया गोप्य राखियो? कसको स्वार्थ पूरा गर्न यस्तो हतार गरियो?”

ठाकुरले हालै युवा, शिक्षा तथा खेलकुद मन्त्री मा. सशमित पोखरेलले विद्यालय व्यवस्थापन समिति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने भन्दै जारी गरेको निर्देशनको पालना गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उनले चेतावनी दिएका छन् कि यदि गठन प्रक्रियामा कानुन मिचिएको पुष्टि भए त्यसमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ। विद्यालय कुनै राजनीतिक दल वा व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण अभिभावक र समुदायको साझा संस्था भएकाले यसको स्वायत्तता र पारदर्शितामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध आफू निरन्तर आवाज उठाइरहने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?