वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

२०८३ श्रावण २, शनिबार १७:१७

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरेको छ भने केही स्थानमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीका अनुसार बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी आवागमन सुचारु रहनेछ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहने जनाइएको छ।

यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा वर्षाका कारण सडक जोखिमपूर्ण बनेपछि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो निर्णय पनि अर्को सूचना जारी नभएसम्म लागू रहने प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि उक्त सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि सो स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पनि ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?