जनमत पार्टीको ७० बुँदे कार्ययोजना सार्वजनिक, ‘पुनर्जागरण महाअभियान’ घोषणा

२०८३ श्रावण १, शुक्रबार १०:५१

जनमत पार्टीले संगठनलाई थप सुदृढ,अनुशासित,जनमुखी तथा परिणाममुखी बनाउने लक्ष्यसहित ‘जनमत पुनर्जागरण महाअभियान (२०८३–२०८४) अन्तर्गत ७० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा वर्तमान संगठनात्मक अवस्थाको समीक्षा, चुनौतीहरूको विश्लेषण,आत्मसमीक्षा तथा आगामी निर्वाचनलाई लक्षित रणनीति समेटिएको छ।

प्रतिवेदनमा जनमत पार्टीले छोटो समयमै राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै मधेश केन्द्रित राजनीतिक शक्तिबाट राष्ट्रिय वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ।

स्वराज ,सामाजिक न्याय, सुशासन ,रोजगारी ,आर्थिक विकास तथा जनसरोकारका मुद्दालाई केन्द्रमा राख्दै किसान ,मजदुर, युवा, उत्पीडित तथा सीमान्तकृत समुदायको आवाजका रूपमा पार्टीले सक्रिय भूमिका निर्वाह गरेको दाबी पनि प्रतिवेदनमा गरिएको छ।

संगठन विस्तारका क्रममा सदस्यता अभियान,वडा तथा पालिका अधिवेशन,बूथ संगठन निर्माण, नयाँ पुस्तालाई लक्षित कार्यक्रम तथा वैचारिक आधारमा अन्य राजनीतिक शक्तिसँग सहकार्य र एकताको प्रयासलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ।

प्रतिवेदनले संगठनभित्र अनुशासन,कार्यसम्पादन मूल्याङ्कन तथा संगठन शुद्धीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।

पार्टी हितविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि अनुशासनात्मक कारबाही गर्ने,कार्यसम्पादनका आधारमा जिम्मेवारी निर्धारण गर्ने,सामाजिक सञ्जालमा सक्रियताको मूल्याङ्कन गर्ने तथा उत्तरदायित्वको संस्कृति विकास गर्ने नीति अवलम्बन गरिने जनाइएको छ।

त्यसैगरी कार्यकर्ताको वैचारिक तथा राजनीतिक क्षमता अभिवृद्धिका लागि देशव्यापी प्रशिक्षण,नेतृत्व विकास,युवा स्वयंसेवक परिचालन तथा सडक,सदन र सरकार तीनै तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति निर्माणमा विशेष जोड दिइएको छ।

प्रतिवेदनमा पार्टीका सबल पक्षका रूपमा स्पष्ट वैचारिक आधार,बलियो जनआधार,आन्दोलनबाट विकसित संगठन, ऊर्जाशील युवा नेतृत्व तथा वैकल्पिक राजनीतिक छविलाई उल्लेख गरिएको छ।

तर अनुशासनहीनता ,गुटबन्दी ,प्रचार–प्रसारमा कमजोरी ,प्रशिक्षणको अभाव,आर्थिक स्रोत व्यवस्थापन,संस्थागत संरचनाको कमजोरी तथा भौगोलिक विस्तारका चुनौतीलाई प्रमुख कमजोरीका रूपमा औँल्याइएको छ।

डा.राउतले हालै सम्पन्न निर्वाचनको परिणामलाई केवल पराजयका रूपमा नभई संगठनात्मक कमजोरीको आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

विगतको तुलनामा पार्टीले बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको वडा समितिको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको तथा संगठनात्मक आधार विस्तार भएको उल्लेख गर्दै आत्मसमीक्षा र पुनर्गठनमार्फत पार्टीलाई अझ सशक्त बनाउन सकिने निष्कर्ष प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

यसै सन्दर्भमा समीक्षाबाट सुधार सुधारबाट पुनर्जागरण पुनर्जागरणबाट विजय भन्ने मूल नारासहित जनमत पुनर्जागरण महाअभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

महाअभियान अन्तर्गत वैचारिक पुनर्जागरण,डिजिटल सदस्यता प्रणाली,संगठन पुनर्गठन,आचारसंहिता कार्यान्वयन,आर्थिक पारदर्शिता,नियमित संगठनात्मक अडिट,जनसम्पर्क अभियान डिजिटल प्रचार–प्रसार,किसान तथा भ्रष्टाचारविरुद्ध आन्दोलन, आर्थिक आत्मनिर्भरता र २०८४ सालको निर्वाचन तयारीलगायत विषय समेटिएको ७० बुँदे कार्ययोजना सार्वजनिक गरिएको छ।

प्रतिवेदनको निष्कर्षमा जनमत पार्टीलाई थप प्रभावकारी, अनुशासित,जनमुखी तथा परिणाममुखी संगठनका रूपमा विकास गर्दै देशको प्रमुख वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

साथै जनताको अधिकार,सम्मान र समृद्धिका लागि अझ सुदृढ संगठन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?