काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको वार्षिक आम्दानी र खर्च दुवैको अवस्था लक्ष्यभन्दा कमजोर देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सरकारले वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी गर्दा कुल बजेट खर्च भने ८० दशमलव ५५ प्रतिशत मात्र गर्न सकेको छ।
सरकारले गत वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा असार मसान्तसम्ममा जम्मा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ मात्र खर्च भएको देखिएको हो।
बजेटको विधागत खर्चतर्फ नियाल्दा चालु शीर्षकमा सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसको ८८ दशमलव ४ प्रतिशत अर्थात् १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ।
चालु खर्चको तुलनामा विकास निर्माणसँग जोडिने पुँजीगत खर्चको अवस्था भने निकै निराशाजनक देखिएको छ। गत आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत बजेट छुट्याइएकोमा वर्षभरिमा जम्मा ४६ दशमलव ७९ प्रतिशत अर्थात् १ खर्ब ९० अर्ब ८४ करोड १४ लाख रुपैयाँ मात्र खर्च हुन सक्यो।
यता वित्तीय व्यवस्था शीर्षकतर्फ भने विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँमध्ये ९२ दशमलव ५६ प्रतिशत अर्थात् ३ खर्ब ४७ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खर्च भएको छ।
यसैगरी सरकारको राजस्व असुलीको लक्ष्य पनि पुरा हुन सकेको छैन। गत आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको भए तापनि लक्ष्यभन्दा कम अर्थात् १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख रुपैयाँ मात्र संकलन भएको छ।
वैदेशिक अनुदानको प्राप्तिको अवस्था पनि लक्ष्यभन्दा निकै तल रहेको पाइएको छ। सरकारले समीक्षा वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेकोमा लक्ष्यको ५८ दशमलव ५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्र अनुदान भित्रिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले स्पष्ट पारेको छ।






