काठमाडौं। विगत लामो समयदेखि न्यायको माग गर्दै आवाज उठाइरहेका ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपुत र ‘घरेलु हिंसापीडित’ बिनु यादवलाई सिंहदरबारस्थित गृह मन्त्रालय प्रवेशमा प्रहरीले रोक लगाएको छ।
गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या र मागहरू राख्ने उद्देश्यले शनिबार मन्त्रालय पुगेका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश निषेध गरेका हुन्।
मन्त्रालयभित्र छिर्न नदिएपछि आक्रोशित बनेका उनीहरूले सिंहदरबारको मूल गेटमै घण्टी बजाएर सरकारविरुद्ध प्रतिकात्मक विरोध प्रदर्शन सुरु गरेका थिए। विगत पाँच दिनदेखि निरन्तर सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएका उनीहरूले शनिबार सडकमै बसेर घण्टी बजाउँदै नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
गृहमन्त्रीलाई आफ्ना पीडा सुनाउन पाउनुपर्ने अडान राखिरहेका ती दुई महिलामाथि प्रहरीले सडकबाट हटाउने क्रममा लछारपछार समेत गरेको छ।
पछिल्ला केही दिनयता उनीहरू दैनिक जसो सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरे पनि प्रहरीले बल प्रयोग गर्दै हरेक दिन त्यहाँबाट हटाउने गरेको छ। न्यायको ढोका ढकढक्याउन सिंहदरबार पुगेका पीडितहरूमाथि प्रहरीको यस्तो बल प्रयोग भएपछि यो विषयले पुनः चर्चा पाएको छ।






