काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार परिवर्तनको ऐतिहासिक जनादेश पाएको सरकारलाई सबैको साथ आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिँदै उनले सरकारमा कोही पनि एक्लो नरहेको भन्दै आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन्।
झाले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि प्राप्त भएको जनादेशलाई खेर जान नदिन सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले सरकारको नियत र आशयप्रति आफूलाई शंका नरहेको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’ सरकारका केही पक्षमा सुधार आवश्यक रहेको भन्दै उनले ती विषयमा निरन्तर सचेत गराउने प्रतिबद्धता जनाएका छन्। झाका अनुसार संसद्मा आफूले राखेको धारणा पनि यही विषयमा केन्द्रित थियो। ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सरकारलाई आवश्यक सुझाव र खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ।
उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सरकारको साथमा रहेको बताएका छन्। उनले सरकारलाई आवश्यक सुधारका विषयमा सजग गराउँदै सकारात्मक काममा साथ दिने संकेत गरेका छन्। झाले ‘यहाँ कोही एक्लो छैन’ भन्दै सरकारलाई साथ र सहयोगका लागि आफूहरू सबै साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आफ्नै दलका सांसदहरुले सरकारको आलोचना गरेपछि शुक्रबार राति कहिलेकाही एक्लै लड्नुपर्छ भन्दै आफु एक्लै लडिरहेको आशय व्यक्त गरेका थिए।
उनले भनेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’






