दुई समुदायबीचको तनावपछि चर्किएको आन्दोलनमा घाइते आनन्द दासको काठमाडौंमा उपचार जारी

२०८३ श्रावण २३, शनिबार १८:३८

जनकपुरधाम । कोशी प्रदेशको देवानगञ्जबाट सुरु भएको दुई समुदायबीचको तनाव तथा आन्दोलन क्रमशः विभिन्न जिल्लामा फैलिँदै गएपछि स्थिति थप संवेदनशील बन्दै गएको थियो। आन्दोलनका क्रममा सुनसरी जिल्लाको पथरी क्षेत्रमा गोली लागेर तीन जनाको मृत्यु भएको तथा मधेश प्रदेशको सिरहास्थित गोलबजारमा पनि गोली लागेर एक जनाको मृत्यु भएको घटनाले परिस्थितिलाई थप तनावपूर्ण बनाएको थियो। त्यसपछि जनकपुरधाममा समेत आन्दोलन चर्किँदै जाँदा मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध तथा प्रदर्शनका गतिविधि सुरु भएका थिए।

सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–८ क्षेत्रमा भएको घटनामा ढुंगा–मुढा प्रहार तथा झडपको अवस्था सिर्जना भएको बताइएको छ। उक्त घटनाका क्रममा जनकपुरधाम–७ बसपार्क क्षेत्रका आनन्द कुमार दास गम्भीर घाइते भएका थिए। घाइते दासको टाउकोमा चोट लागेपछि तत्काल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो।

राष्ट्रिय ट्रमा सेन्टरमा दासको टाउकोमा शल्यक्रिया गरिएको र हाल उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको जनाइएको छ। गम्भीर चोटका कारण लामो समयदेखि उपचाररत दासको स्वास्थ्य अवस्थाबारे परिवार तथा शुभेच्छुकहरूले समेत चासो राख्दै आएका छन्।

यसैबीच, घाइते आनन्द दासको उपचारमा आवश्यक समन्वय र पहलका लागि स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमला, राजेन्द्र खनाल तथा पत्रकार अनिलकुमार निराला लगायतले पहल गरेको जनाइएको छ। उपचार प्रक्रियामा आवश्यक सहयोग तथा समन्वय भइरहेको र हाल आनन्द दासको अवस्था पहिलेको तुलनामा सुधारोन्मुख रहेको स्वतन्त्र नागरिक अभियानका प्रतिनिधि राजेन्द्र खनालले जानकारी दिएका छन्।

आन्दोलन तथा झडपका क्रममा घाइते भएका व्यक्तिको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने मागसमेत उठेको छ। दुई समुदायबीचको तनावले हिंसात्मक रूप लिन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा समुदायका अगुवाहरूले संयम अपनाउँदै संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

यस घटनाले आन्दोलनका क्रममा सर्वसाधारण तथा बालबालिकासमेत जोखिममा पर्न सक्ने अवस्था देखाएको भन्दै नागरिक स्तरबाट पनि शान्तिपूर्ण वातावरण निर्माणका लागि पहल गर्नुपर्ने आवाज उठेको छ। घाइते आनन्द दासको उपचार जारी रहेकाले उनको स्वास्थ्य अवस्थाबारे अस्पताल तथा परिवारबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार मान्नुपर्नेमा समेत जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?