सप्तरीको डाक्नेश्वरी नगरपालिकाद्वारा ५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन

२०८३ श्रावण २७, बुधबार २१:०७

.२७ साउन, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा हटाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिएको छ ।

नगरपालिकाले वडा नम्बर ९ स्थित सखुवा चोकमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी केही स्थानीयवासीले घर तथा टहरा निर्माण गरेको जनाउँदै पाँच दिनभित्र त्यस्ता संरचना हटाउन सूचना जारी गरेको हो ।

वडा नम्बर ९ को कार्यालय, पत्थरगाडाले गरेको निर्णय तथा सिफारिस र नगरपालिकाले यसअघि जारी गरेका अवैध संरचना हटाउनेसम्बन्धी सूचनालाई आधार बनाउँदै नगरपालिकाले पुन: यस्तो सूचना जारी गरेको जनाएको छ ।

नगरपालिकाका अनुसार २०८१ भदौ १ गते वडा समितिको निर्णय, २०८१ चैत २० गते वडा कार्यालयको सिफारिस तथा २०८१ चैत २१, २०८३ जेठ ११ र २०८३ जेठ २५ गते प्रकाशित सूचनाअनुसार अतिक्रमित संरचना हटाउन भनिएको हो ।

नगरपालिकाले तोकिएको पाँच दिनभित्र अवैध संरचना तथा अतिक्रमित जग्गा खाली नगरेमा प्रचलित कानुनबमोजिम नगरपालिकाले नै संरचना हटाउने चेतावनी दिएको छ । त्यस क्रममा हुने क्षतिको जिम्मेवारी नगरपालिकाले नलिने सूचनामा स्पष्ट पारिएको छ ।

नगरप्रमुख राम लखन मलाहद्वारा जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर जग्गा खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?