पत्रकार किशोर श्रेष्ठलाई बिनासर्त रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८, बिहीबार १३:४०

काठमाडाैं। पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसमा भएको छापा मार्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ।

काठमाडौं प्रहरी परिसर अगाडि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भेला भएका पत्रकारहरूले कालोपट्टी बाँधेर र बलिरहेको लाल्टिन प्रदर्शन गर्दै श्रेष्ठको बिनासर्त रिहाइको माग गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गरेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो भने प्रहरी र पत्रकारहरूबीच घम्साघम्सीसमेत भएको थियो।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको हो। गिरफ्तारीलगत्तै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा समेत पुगेर खानतलासी गरेको थियो।

महासंघले आफ्ना पूर्वमहासचिव तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको छापा मार्ने कार्यलाई प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भन्दै तीव्र भर्त्सना गरेको छ।

हिजो रातिदेखि नै काठमाडौं प्रहरी परिसर अगाडि निरन्तर प्रदर्शन गरिरहेको महासंघले श्रेष्ठलाई तत्काल बिनासर्त रिहा नगरिए देशव्यापी कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?