उदयपुर सिमेन्ट उद्योग फेरि पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी

२०८३ भाद्र १, सोमबार १२:४२

काठमाडौं । सरकारले लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । बालेल शाह नेतृत्वको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै चुनढुंगा तथा रातोमाटो उत्खननको साविकमा रद्द भएको अनुमतिपत्रसमेत पुनः जारी गर्ने निर्णय गरेको हो ।

यसअन्तर्गत २०८३ साल असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा एवं रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२ को उपदफा (३) बमोजिम साविकमा रद्द भएको चुनढुंगा एवं रातोमाटो उत्खनन अनुमतिपत्र जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिएको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा २०८१ साल असोजमा उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा खनिज उत्खनन अनुमति रद्द गरिएको थियो । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ साल फागुन १ गते उदयपुर सिमेन्ट उद्योगलाई पत्र पठाउँदै खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम चुनढुंगा उत्खनन अनुमतिपत्र २०८१ साल मंसिर ६ गतेदेखि लागू हुने गरी रद्द भएको जानकारी गराएको थियो । उक्त अनुमतिपत्र विभागीय अभिलेखबाट हटाइएको समेत मन्त्रालयले जनाएको थियो ।

तर, वर्तमान सरकारले उद्योगलाई पुनः सञ्चालन गर्ने उद्देश्यसहित रद्द भएको अनुमतिपत्र पुनः जारी गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले यससँगै उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्नुपर्ने बक्यौता रकमसमेत सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अर्को निर्णयअनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडले खानी तथा भूगर्भ विभागलाई तिर्नुपर्ने ७४ लाख ९७ हजार ३३१ रुपैयाँ ९५ पैसा बक्यौता रकम अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ । स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले उक्त रकम खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराइसकेको छ ।

यससँगै सरकारले उदयपुर सिमेन्ट उद्योग सञ्चालनका लागि थप प्रशासनिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अब उद्योगमा महाप्रबन्धक नियुक्त गरी व्यवस्थापनलाई सक्रिय बनाउँदै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।

हाल उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक ८०० मेट्रिक टन रहेको छ । तर, लामो समयदेखि विभिन्न समस्या झेल्दै आएको उद्योगले आफ्नो उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न सकेको छैन ।

जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०४४ सालमा निर्माण भएको उदयपुर सिमेन्ट उद्योग कुनै समय नेपालको प्रमुख तथा ठूलो सिमेन्ट उद्योगका रूपमा स्थापित भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा यो नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग कम्पनीका रूपमा समेत चिनिएको थियो ।

उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११, जलजलेस्थित वन क्षेत्रमा रहेको छ । उद्योगका लागि आवश्यक चुनढुंगा उदयपुरकै उत्तरी भेगमा रहेको सुकौराबाट ल्याउने व्यवस्था गरिएको छ । चुनढुंगा ढुवानीका लागि सुकौरादेखि उद्योगसम्म रोपवे सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरिएको थियो ।

एसियाकै ठूलोमध्येको एक सिमेन्ट उद्योगका रूपमा चर्चा पाएको उदयपुर सिमेन्ट उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्न सके देशको सिमेन्ट उत्पादन बढ्नुका साथै आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले अनुमतिपत्र नवीकरण, बक्यौता रकम व्यवस्थापन तथा महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएसँगै लामो समयदेखि समस्यामा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?