जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतले अग्रगामी मोर्चा मुलुकको राजनीतिक परिवर्तनलाई नयाँ दिशा दिने साझा प्रयास भएको बताएका छन्।
काठमाडौँमा शुक्रबार आयोजित अग्रगामी मोर्चासम्बद्ध महिला, युवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्र र मोर्चाका बैठकलाई सम्बोधन गर्दै डा. राउतले वर्तमान राजनीतिक अवस्थालाई नयाँ दृष्टिकोण, नेतृत्व र जनमुखी कार्यदिशामार्फत अघि बढाउन अग्रगामी शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
उनले अग्रगामी मोर्चा कुनै व्यक्ति वा दल विशेषको स्वार्थका लागि नभई जनताको अधिकार, सामाजिक न्याय, समानता, सुशासन, लोकतान्त्रिक मूल्य र समृद्धिको साझा एजेन्डालाई संस्थागत गर्ने अभियान भएको स्पष्ट पारे।
अग्रगामी मोर्चा केवल राजनीतिक दलबीचको सहकार्य मात्र होइन, समाजका विभिन्न वर्ग, समुदाय, पेसा र पुस्तालाई एउटै साझा उद्देश्यमा जोड्ने अभियान हो,” डा. राउतले भने, “महिला, युवा, बुद्धिजीवी र सञ्चार क्षेत्रको सक्रिय सहभागिताबिना परिवर्तनलाई दिगो र प्रभावकारी बनाउन सकिँदैन।
बैठकमा मोर्चाको आगामी संगठनात्मक कार्यदिशा, जनसम्बन्ध विस्तार, युवा तथा महिलाको नेतृत्व विकास, बौद्धिक समुदायसँग सहकार्य तथा सञ्चार र डिजिटल माध्यमबाट जनतासम्म प्रभावकारी रूपमा पुग्ने विषयमा छलफल भएको थियो।
डा. राउतले युवालाई परिवर्तनको अग्रदूत, महिलालाई नेतृत्वको महत्वपूर्ण शक्ति तथा बुद्धिजीवी र सञ्चार क्षेत्रलाई विचार तथा जनमत निर्माणका आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै जनताको समस्या, अपेक्षा र आवाजलाई नीति निर्माणसँग जोड्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार अग्रगामी मोर्चाले आगामी दिनमा संगठन विस्तारसँगै विचार, नीति, कार्यक्रम र जनसम्बन्धलाई समान प्राथमिकता दिएर अघि बढ्नेछ। मोर्चालाई देशव्यापी रूपमा मजबुत बनाउँदै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म जनतासँग प्रत्यक्ष संवाद र सहकार्य बढाउने योजना रहेको उनले बताए।
अबको राजनीति केवल नारामा होइन, परिणाममा देखिनुपर्छ; केवल नेतृत्वको वरिपरि होइन, जनताको बीचमा केन्द्रित हुनुपर्छ,” डा. राउतले भने, “अग्रगामी मोर्चाले यही राजनीतिक संस्कार र कार्यशैली निर्माण गर्नेछ।
काठमाडौँमा एकै दिन विभिन्न क्षेत्रसँग सम्बन्धित बैठक सम्पन्न हुनुलाई मोर्चाले संगठनात्मक तथा वैचारिक अभियानलाई तीव्रता दिने महत्वपूर्ण कदमका रूपमा लिएको छ। बैठकमा सहभागीहरूले अग्रगामी मोर्चालाई थप व्यवस्थित, सशक्त, समावेशी र जनआधारित बनाउँदै मुलुकको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






