चन्दन रजक मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश वन निर्देशनालयको निर्देशकको जिम्मेवारी सुभाष चन्द्र दासले सम्हालेका छन्।
वन संरक्षण तथा व्यवस्थापन अधिकृतका रूपमा कार्यरत दासले प्रदेश वन निर्देशनालयमा हाजिर भई निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।
जिम्मेवारी सम्हालेसँगै निर्देशक दासले वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा निगरानीलाई प्रभावकारी बनाउँदै निर्देशनालयको संस्थागत व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
दासले मधेस प्रदेशका आठवटै डिभिजन वन कार्यालय तथा चारवटा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको प्रशासनिक तथा प्राविधिक कार्यलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउने गरी काम अघि बढाउने बताएका छन्।
वन क्षेत्रको संरक्षण, वन अपराध नियन्त्रण, वन व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै प्रदेशभरका मातहतका कार्यालयबीच प्रभावकारी समन्वय र अनुगमनलाई सुदृढ बनाउने उनको योजना छ।
यस अघि डिभिजन वन कार्यालय सप्तरीको प्रमुखको जिम्मेवारीमा रहेका दास प्रदेश वन निर्देशनालयमा सरुवा भई निर्देशकको जिम्मेवारीमा पुगेका हुन्।






