जलेश्वरमा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

२०८३ आश्विन २, शुक्रबार १७:२१

जलेश्वर, महोत्तरी — ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा जलेश्वरमा बालबालिकाको अधिकार, संरक्षण र भविष्यका विषयमा केन्द्रित वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

बुधबार जलेश्वर नगरपालिकाको सभा हलमा प्रतियोगिता सञ्चालन गरिएको हो । रतौली युवा कल्व तथा सभा द चिल्ड्रेनको लगायत सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा बालबालिकाले ‘बालबालिकाको रक्षा : भविष्यका लागि हाम्रो आवाज’ विषयमा आफ्ना विचार तथा धारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा विभिन्न क्षेत्रबाट बालबालिकाको सहभागिता रहेको थियो। सहभागीहरूले बालअधिकार, बाल संरक्षण, शिक्षा, सुरक्षित भविष्य तथा बालबालिकाका आवाजलाई राज्य र समाजले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने विषयमा आफ्ना विचार राखेका थिए।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताको मूल्याङ्कन तथा पुरस्कार व्यवस्थापनका लागि तीन सदस्यीय निर्णायक समिति समेत गठन गरिएको थियो। समितिमा नाडु कुमारी नेपाली, रागिनी देवी मिश्र र शशिभुषण चौधरी रहेको विवरणमा उल्लेख छ।

प्रतियोगिताका लागि आवश्यक पुरस्कार तथा अन्य व्यवस्थापन गरिएकोमा सम्बन्धित सहयोगी तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरिएको छ।
बालबालिकाको आवाजलाई सार्वजनिक बहससँग जोड्दै उनीहरूकै विचार र अभिव्यक्तिलाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?