पिपरा, महोत्तरी । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा पिपरा गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न हुनुका साथै महोत्तरी जिल्लाकै पहिलो पालिकास्तरीय बाल क्लब सञ्जाल तथा वडा स्तरीय बाल क्लब सञ्जालहरूको दर्ता प्रक्रिया समेत सम्पन्न भएको छ।
“पालिकास्तरीय बालपनको रक्षा, भविष्यको सुरक्षा” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगिता पिपरा गाउँपालिकाको बैठक हलमा सम्पन्न भएको हो। पिपरा गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय बाल क्लब सञ्जालको समन्वयमा रोटरी युवा क्लब तथा सेभ द चिल्ड्रेनको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियो।
बालबालिकाको अधिकार, संरक्षण, सुरक्षित भविष्य तथा बालमैत्री वातावरण निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बालबालिकाले आफ्ना विचार, अपेक्षा र भविष्यका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा पिपरा गाउँपालिकाका ८ वटै वडा स्तरीय बाल क्लब सञ्जालबाट ५६ जना बालबालिकाको अर्थपूर्ण सहभागिता रहेको थियो। सहभागीमध्ये २७ जना बालबालिकाले वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा वडा नं. ५ का कृष्ण साह प्रथम, वडा नं. १ की आकृति झा द्वितीय र वडा नं. २ की शिक्षानी यादव तृतीय भएका छन्।
महोत्तरीकै पहिलो पालिकास्तरीय बाल क्लब सञ्जाल दर्ता
सोही अवसरमा महोत्तरी जिल्लाकै पहिलो पालिकास्तरीय बाल क्लब सञ्जाल दर्ता प्रक्रिया पनि सम्पन्न गरिएको छ। श्री पिपरी दासरथको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति पुनर्गठन गरी दर्ता प्रक्रिया पूरा गरिएको हो।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रचना झाले पालिकास्तरीय बाल क्लब सञ्जाललाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। साथै, सोही अवसरमा ८ वटै वडा स्तरीय बाल क्लब सञ्जाललाई समेत दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
पुनर्गठित बाल क्लब सञ्जालले बाल अधिकारको संरक्षण, बाल सहभागिता, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, हिंसा तथा दुर्व्यवहारविरुद्ध सचेतना लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले पालिका तथा वडा तहमा रहेका बाल क्लबहरूलाई व्यवस्थित, संस्थागत, दिगो र बालअधिकारसम्बन्धी गतिविधिमा थप सक्रिय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, बालबालिकालाई आफ्ना विचार, सवाल तथा भविष्यका अपेक्षा व्यक्त गर्ने अवसर प्रदान गर्दै स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रचना झाले बालबालिकाको सहभागिता र नेतृत्व विकासलाई स्थानीय तहको प्राथमिकतामा राख्दै आगामी दिनमा समेत बालमैत्री गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।






