काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मुलुकको वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले कुनै कारणवश अहिलेको संविधान असफल भएमा आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिए।
संविधान गुमेमा देश गृहयुद्धको चक्रभ्युहमा फस्ने र त्यसको प्रत्यक्ष असरस्वरूप मधेशले प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू पनि गुम्ने उनको भनाइ थियो।
केन्द्रमा शासन सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई कहिल्यै पनि प्राथमिकतामा नराखेको आरोप लगाउँदै उनले विगतका जनयुद्ध र मधेश आन्दोलनको जगमा हासिल भएका अधिकारहरूको औचित्यसमेत अहिले ओझेलमा पर्न थालेको टिप्पणी गरे।
मुलुकमा हुने जुनसुकै किसिमका द्वन्द्व, हिंसा वा धार्मिक दङ्गाको केन्द्र भागमा जहिले पनि मधेशलाई नै पार्ने गरिएको भन्दै उनले यसबारे सरकारसँग प्रश्न समेत गरे।
मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ’ब्याटल ग्राउण्ड’ (युद्ध मैदान) बनाउने खेल भइरहेको दाबी गर्दै उनले यस्ता दुष्प्रयास र अवाञ्छित गतिविधिबाट जोगिन तथा सजग रहन सबै पक्षलाई आग्रह गरे।
सोही क्रममा सांसद सिंहले मधेशका समस्या र जनताका अपेक्षालाई सरकारसम्म पुर्याउन छठ पर्वको अवसरमा जनकपुरधामबाट ‘मेची-महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा गरे।
यात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा प्रत्यक्ष रूपमा जनतासँग सम्वाद गरी उनीहरूका सुझाव तथा अपेक्षाहरू संकलन गर्ने उनको योजना छ। पदयात्रा सकिएपछि नागरिकका ती आवाज र मागहरू पूरा गराउन सरकारलाई बुझाउने र दबाब दिने उनले बताए।
आफ्नै पार्टी संलग्न वा जुनसुकै दलको सरकार भए पनि जनताको आवाज र अपेक्षालाई निष्पक्ष रूपमा सरकारसमक्ष पुर्याउनु जनप्रतिनिधिको मुख्य कर्तव्य हुने भएकाले आफूले सरकारलाई घच्घच्याउने काम जारी राख्ने उनले प्रष्ट पारे।






