जनमत पार्टीका नेता डा. जयकान्त राउतले पार्टीको दोस्रो महाधिवेशनमा राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै संगठन सुदृढीकरण, संस्थागत विकास र जनमुखी राजनीतिक अभियानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीलाई विचार, संगठन र पहिचानका दृष्टिले थप सशक्त बनाउँदै देशकै प्रमुख वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफूले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको राउतले बताएका छन्।
उनले शोषित, उत्पीडित, किसान तथा सीमान्तकृत समुदायको आवाजलाई अझ प्रभावकारी रूपमा राजनीतिक मूलधारमा स्थापित गर्न संगठनलाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
दोस्रो महाधिवेशनलाई पार्टीको विगतको समीक्षा, वर्तमान अवस्थाको मूल्याङ्कन तथा आगामी राजनीतिक यात्राको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको राउतको भनाइ छ।
राउतले यसअघि छोटो अवधिका लागि राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुखलगायतका जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै संगठन निर्माण र सुदृढीकरणमा आफ्नो अनुभवलाई आगामी कार्यकालमा थप प्रभावकारी रूपमा उपयोग गर्ने बताएका छन्।
गत चैतमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा संगठनलाई पुनर्जागरण गर्ने उद्देश्यले ‘जनमत पुनर्जागरण महाअभियान (२०८३–२०८४)’ अन्तर्गत ७०-बुँदे कार्ययोजना (Action Plan) प्रस्तुत गरी कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिएका छन्।
राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा निरन्तरता पाए पार्टीको नीति, विधान तथा सामूहिक निर्णयको अधीनमा रही उक्त कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने राउतले प्रतिबद्धता जनाएका छन्।
उनले पार्टी संगठनलाई थप व्यवस्थित, संस्थागत, अनुशासित, मर्यादित र जनमुखी बनाउने लक्ष्यसहित कार्य गर्ने बताएका छन्। संगठनको आधार बलियो बनाउँदै पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने र आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई प्राथमिकता दिने उनको भनाइ छ।
राउतले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै राष्ट्रिय उपाध्यक्ष पदमा मतदान गर्न अपिलसमेत गरेका छन्।
उनले पार्टीको आगामी यात्रालाई थप गतिशील र संस्थागत बनाउन सामूहिक नेतृत्व, संगठनात्मक एकता र कार्यान्वयनमुखी राजनीतिक संस्कार आवश्यक रहेको बताएका छन्।
उनको उम्मेदवारीलाई संगठन सुदृढीकरण र पुनर्जागरणको एजेन्डासँग जोडेर प्रस्तुत गरिएको छ।
दोस्रो महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशालाई थप स्पष्ट बनाउने अपेक्षासहित राउतले आफ्नो प्रतिबद्धता र कार्ययोजनालाई महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत गरेका हुन्।






