दुधमती संरक्षणका लागि ‘अभियानदेखि नीतिसम्म’ संवाद : हरित करिडोरलाई गौरवको योजना बनाउन सुझाव

२०८३ आश्विन ५, सोमबार २२:५१

जनकपुरधाम । रामायणकालीन इतिहास, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुधमती नदी मानवीय अतिक्रमण, फोहोर तथा अव्यवस्थित गतिविधिका कारण प्रदूषित र कुरूप बन्दै गएको भन्दै यसको संरक्षणका लागि नीतिगत पहल गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२२ स्थित जानकी घाटमा दुधमती नदी सरोकार समाजले विगत ३६० हप्तादेखि नियमित सरसफाइ, नदी किनारमा वृक्षारोपण तथा विभिन्न धार्मिक–ऐतिहासिक पर्वको व्यवस्थापन गर्दै आएको छ । लामो समयदेखि अभियान सञ्चालन भए पनि नदीको अवस्थामा अपेक्षित सुधार नआएपछि अभियानसँगै सरकारी नीति र ठोस योजना आवश्यक रहेको निष्कर्षसहित समाजले ‘दुधमती संवाद : अभियानदेखि नीतिसम्म’ कार्यक्रम आयोजना गरेको हो ।

मैथिली विकास कोषको सभाहालमा आयोजित कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. सोहन साहले दुधमती नदी हरित करिडोर निर्माणको योजना वातावरण तथा नदीमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले दुधमती करिडोरलाई मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश सरकारको दुधमती करिडोर निर्माणको योजना रहेको उल्लेख गर्दै साहले आफ्नो कार्यकालमा पहिलोपटक समपूरक अनुदानअन्तर्गत दुधमती नदी उत्खननका लागि ३० करोड रुपैयाँ विनियोजन गर्न लगाइएको जानकारी दिनुभयो । नदीको विकास तथा निर्माणका क्रममा प्राकृतिक संरचनामा असर नपर्ने गरी प्रकृतिमैत्री ढंगले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार खङ्गले दुधमती नदी उत्खनन, हरित करिडोर र हरित पार्क निर्माणका लागि दुईवटा समिति गठन भइसकेको जानकारी दिनुभयो । मुख्यमन्त्रीको संयोजकत्वमा एउटा र बहालवाला मन्त्रीको संयोजकत्वमा अर्को समिति गठन गरिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा करिब १२ करोड रुपैयाँ दुधमती करिडोरका लागि छुट्याइएको र त्यसअन्तर्गत करिब ६ किलोमिटर नहर उत्खनन तथा नदीको दुवैतर्फ ५/५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको खङ्गले जानकारी दिनुभयो । तर, नदी क्षेत्रमा भएको जग्गा अतिक्रमण तथा विभिन्न स्थानमा देखिएका अवरोधका कारण योजना कार्यान्वयनमा कठिनाइ भइरहेको उहाँको भनाइ थियो । दोस्रो चरणमा करिब १९ करोड रुपैयाँको परियोजना एक महिनाभित्र सञ्चालन गर्ने तयारी रहेको र त्यसमा मन्दिर, पुल तथा १५० मिटर घाट निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले दुधमती नदी सरोकार समाजले लामो समयदेखि सञ्चालन गर्दै आएको सचेतना तथा सरसफाइ अभियानले नदी संरक्षणको विषयलाई गति दिएको बताउनुभयो । दुधमतीको संरक्षण तथा पर्यटन विकासका लागि उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म समग्र योजना बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले छोटो तथा दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न र विकासका क्रममा आउने अवरोधलाई सम्बोधन गर्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष प्रदीप दत्तले दुधमतीलाई आर्थिक विकास र पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । दुधमतीको ऐतिहासिक तथा सांस्कृतिक कथालाई पर्यटकीय सामग्रीका रूपमा विकास गरी प्रचार–प्रसार गर्नुपर्ने उहाँको सुझाव थियो । नेपाल–भारत सीमालाई पर्यटनमैत्री बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सीमाक्षेत्रमा पर्यटकका लागि जानकारीमूलक कार्यालय स्थापना र सहज आवागमनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

दत्तले दुधमती दर्शन तथा पर्यटन प्रवद्र्धनमा ई–रिक्सा चालकलाई समेत जोड्न सकिने सुझाव दिनुभयो । ई–रिक्सा चालकसँग समन्वय गरी उनीहरूलाई पर्यटकलाई दुधमती तथा आसपासका धार्मिक–ऐतिहासिक स्थलको जानकारी दिने माध्यमका रूपमा परिचालन गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा समाजका संरक्षक सुरेशप्रसाद शर्माले दुधमती नदीको ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्वबारे प्रकाश पार्नुभएको थियो । समाजका अध्यक्ष सुदीपकुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम–२२ का वडा अध्यक्ष विमलेश मिश्र, इसीजी फाउन्डेसनका दिपु ठाकुर, अभियन्ता अमरेन्द्रकुमार यादव, गंगासागर सफाइ अभियन्ता बजरंग यादव, गेरुका नदी सफाइ अभियन्ता हरिश्चन्द्र यादव, दुधमती सफाइ अभियन्ता निशान्त सिंह, राजकुमार पण्डित, धनिकलाल सहनीलगायत विभिन्न अभियानमा सक्रिय अभियन्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव आनन्द सहनीले गर्नुभएको थियो । ‘दुधमती संवाद’ बाट प्राप्त निष्कर्षलाई सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग समन्वय र छलफल गरी कार्यान्वयनतर्फ लैजाने समाजका अध्यक्ष सुदीप मण्डलले बताउनुभयो । उहाँले दुधमती संरक्षणका लागि संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?