राजनीतिक निष्ठा, अहोरात्रको खटाइ र सुदृढ संगठनात्मक क्षमताका कारण पहिचान बनाएकी नेतृ ममता झाले जनमत पार्टीको महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विगत लामो समयदेखि पार्टी निर्माण र विस्तारमा अहोरात्र खटिएकी झालाई पार्टीभित्र एक निडर, सक्षम र दूरदर्शी नेतृका रूपमा हेरिन्छ।
पार्टीको जग बलियो बनाउन तल्लो तहदेखि नै अहम भूमिका निर्वाह गर्दै आएकी झाले संगठनलाई नयाँ उँचाइ र गतिशीलता दिन महासचिव पदमा उम्मेदवारी दिएको बताउनुभएको छ।
आफ्नो उम्मेदवारीका सन्दर्भमा धारणा राख्दै उहाँले भन्नुभयो— “पार्टीप्रतिको समर्पण, कार्यकर्ताको सम्मान र जनताको मुद्दासँग जोडिएर संगठनलाई थप पारदर्शी, सशक्त र समावेशी बनाउनु मेरो मुख्य प्राथमिकता हो।
विगतको अनुभव र लगनशीलतालाई अब केन्द्रीय नीति निर्माण र कार्यान्वयनमा लगाउने संकल्प लिएकी छु।
पार्टीको सिद्धान्त र निष्ठाप्रति दृढ रहँदै आएकी झाले गाउँ-गाउँसम्म पुगेर संगठन विस्तारमा पुर्याएको योगदानका कारण उहाँलाई नेता तथा कार्यकर्ताहरूको व्यापक समर्थन रहेको देखिन्छ। उहाँको यो उम्मेदवारीले पार्टीभित्र निष्ठावान् र सक्षम महिला नेतृत्वको उपस्थितिलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।






