ADVERTISEMENT

भदौ २७ देखि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउने

२०८० भाद्र २१, बिहीबार १०:०४

भदौ २१ ,काठमान्डौ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ।

अस्पतालको ६४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप खरिद गरेर ल्याएको थियो।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरूवात गर्ने तयारी गरेको छ। दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ।

कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने डा. अधिकारीले बताए।

उनका अनुसार खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ।

‘अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ’, उनले भने, ‘नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ।’

विश्वमा महिलालाई सबैभन्दा बढी स्तान क्यान्सर हुने गरेको उनले बताए।

सन् २०२२ को सरकारी तथ्यांक अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले जानकारी दिए।

उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?