सर्लाहीको नारायणपुर नाकाबाट यसरी भैरहेछ तस्करी

२०८० आश्विन २६, शुक्रबार ०५:४५

सर्लाही । सर्लाहीको नारायणपुर नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ । हिन्दुहरूको ठूला चाडपर्व नजिकिएसंगै यस्तो तस्करी धन्दा शुरू भएको छ । मुख्य नाकाबाट तस्करी भएको समाचारहरू धेरै आउन थालेपछि अहिले तस्करहरूले अरू नाकाहरू प्रयोग गरेर तस्करी धन्दा गर्न शुरू गरेका छन् । नारायणपुर नाका अहिले तस्करहरूको लागि सबैभन्दा सुरक्षित र सजिलो भएको छ ।नेपाल प्रहरीको सहयोग र संरक्षणमा यहाँबाट यस्तो तस्करी धन्दा हुदै आएको स्थानीय व्यवसायीहरू बताउँछन् । अहिले यो नाकाबाट सबैभन्दा बढी काजु , कपडा र भारतीय कुखुराको ठूलो तस्करी हुदै आएको छ । सन्तोष साहले ठूलो मात्रामा काजुको तस्करी गर्दै आइरहेका छन् । उनले दैनिक लाखौं लाखको काजु भन्सार नतिरी तस्करी गरिरहेका छन् ।त्यसैगरी भारतको इनर्वा गाउँ घर भएका विजय साह र पुकार यादवले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल र कहिलेकाही पिकअप प्रयोग गरेर समेत कपडाको तस्करी गरिरहेका छन् । यसबाहेक भारत वथवारा घर भएका उमेश ठाकुरले पनि ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।भण्डारी भनेर चिनिने व्यापारीले त बाहिर फूलको व्यापार देखाएर कपडाको ठूलो तस्करी गरिरहेका छन् । यसबाहेक भारतीय नागरिक धर्मेन्द्र र हिरनले कस्मेटिकको ठूलो तस्करी गरिरहेका छन् । सहेमुल्लाह समेतका तीन जनाले पिकअपमा नै खसिबोकाको ठूलो तस्करी यसै नाकाबाट गरिरहेका छन् ।
यो तस्करी धन्दामा स्थानीय प्रहरी चौकीका प्रमुख असई रामबिश्वास पटेलको संरक्षण र सेटिङ रहेको स्थानीय व्यावसायीहरू बताउँछन् । यसबाहेक यो नाकाबाट ठूलो मात्रामा भारतीय कुखुराको तस्करी हुदै आएको छ । भारतको सोहार्वा गाउँमा बिरेन्द्र यादवको कुखुराको ठूलो सेल फार्म रहेको छ ।त्यही होलसेलबाट सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू उपेन्द्र साह , रामेश्वर साह , रामबीर पल्धारी र अरविन्द साहले भारतीय कुखुरा तस्करी गरि नेपाल भित्र्याउने काम गर्दै आएका छन् । भारतीय कुखुरा नेपाल भित्र्याउने र नाम मात्रको कागजी दर्ता रहेका फार्ममा पालेको कागज बनाउने र क्वारेन्टाइनको सेटिङमा कागज बनाई अन्यत्र लैजाने काम हुदै आएको छ। अरबिन्द साहले भारतबाट कुखुरा ल्याउने र नेपालबाट रक्सी भारत पठाउने दोहोरो धन्दा पनि गरिरहेका छन् ।यो नाकाबाट सर्लाहीमा ठूलो भारतीय कुखुराको तस्करी धन्दा हुदै आएको छ । नारायणपुर चौकीका असई पटेल तिनै व्यक्ति हुन जो यसअघि पर्सा प्रहरी चौकीमा प्रमुख हुदा काण्ड लागेर एक महिनामा नै हटाइएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?