२७ वैशाख, जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित ११ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हो ।
हाट बजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गर्नुका साथै भएको काम भन्दाबढी रकमपनि भुक्तानी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबीपनि गरेको छ ।






