जनकपुरधाम,१७ जेठ । मधेस प्रदेशमा दुइ दिनसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागिएको छ । प्रदेशको राजधानी जनकपुरधाममा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ को आयोजना गर्न लागिएको हो ।जनकपुरधाम उद्योग वाणिज्य संघमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी हुन लागेको मेलाको बारेमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवम मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने लक्ष्य लिइएको जनाए । उनका अनुसार नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” आयोजना गर्न लागिएको हो ।
मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल राखिनेछ । मेलामा सहभागिताका लागि ३५ स्टल रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।






