
गोरखा — धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटको पहिरोमा परी मृत्यु भएकाहरुको शव दुई दिनपछि गाउँ लैजान थालिएको छ । आइतबारको रेसेफाँट पहिरोमा बेपत्ता भएकी कान्छी गुरुङको शव गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो । रेसेफाँटको पहिरोमा बेपत्तामध्ये चार जनाको शव भेटिएको हाे । चारै जना धार्चे–५ सिङ्लाका हुन् । तीन गाउँका स्थानीयको सहयोगमा शव सिङ्ला पुर्याइएकाे स्थानीय राज गुरुङले जानकारी दिएका छन ।
७० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ, बुहारी ३५ वर्षीया कान्छी गुरुङ र धार्चे–५ सिङ्लाका ३३ वर्षीय रमेश गुरुङको शव भेटिएका हो । जीतबहादुरका परिवार सिङ्ला गाउँबाट दुई वर्षअघि रेसेफाँट झरेका थिए । रमेश हाइड्रोपावरमा काम गर्ने सिलसिलामा रेसेफाँटमा थिए । आइतबार बिहानको पहिरोले जीतबहादुरको घर बगाउँदा उनीहरु बेपत्ता भएका थिए ।
गोरखा अस्पतालमा पोस्टमार्टम भएको एक जनाको शव लिएर आएको हेलिकप्टरमार्फत रेसेफाँटमा भेटिएको थप तीन जनाको शव पनि गाउँ पुर्याउने योजनामा थियौं । हिजो सोमबार नै हेलिकप्टरमार्फत शव गाउँ लगे पनि मौसमले गर्दा ल्यान्ड हुन सकेन। हेलिकप्टरमा राखेको शव फेरि रेसेफाँटमै झारेर रातभर कुरेर बस्यौ । उनले भने, मौसम हेर्दाहेर्दै आज पनि ४ बज्यो । उडान हुन नसकेपछि बोकेर गाउँ लैजान लागेका हौं । शव गाउँ पुर्याउन सिङ्लासहित गुम्दा र लाप्राकका स्थानीयले पनि साथ दिएका छन् ।