दशैंको लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।असोज २२ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थ नगर, नेपाल गंज र धनगढीको प्रादेशिक कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ ।
बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग, प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । तर यसपटक नयाँ नोट भने साट्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँको सट्टा सुकिला नोट साट्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।
एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा. डिल्लिराम पोखरेलले बताए ।यद्यपि आफ्नो खाता रहेको बैंकबाट साट्नुपर्ने नोटमा भने सीमा छैन । यसपटक नयाँ नोट नभएकाले कम कममात्रले नोटसटहीको लागि आउने अनुमान राष्ट्र बैंकले गरेको छ ।
कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न शाखाहरूमा दशैंका लागि सुकिला ५, १०, २०, ५० र १०० दरका नोट सर्वसाधारणमा सटही सुविधा दिन लागेको हो ।बागमती प्रदेशका पुतलीसडक, शत्तीगौडा, बोनश्वर, सिफल, बसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला र हाकिमचोक शाखाबाट सुकिला नोट साटिने बैंकले जनाएको छ ।
त्यसैगरी एनआईसी एसिया बैंक, हिमालयन बैक लगायत अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो नयाँ नोट सटहीका लागि तयारी गरिरहेको जनाएको छ ।
कोशी प्रदेशको विराटनगर, इटहरी र बिर्तामोड शाखाबाट सुकिला नोट पाइन्छ भने मधेस प्रदेशको बरहथवा, मलंगवा, लहान शाखाबाट पाइन्छ ।
गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा, चिप्लेढुंगा, बागलुङ र गैँडाकोट शाखाबाट सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको नेपालगञ्ज, घोराही, सिद्धार्थनगर, ट्राफिक चोक बुटवल, तुलसीपुर, कर्णालीको सुर्खेत वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी, अत्तरिया र कञ्चनपुर शाखाबाट सुकिला नोट साटिने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।
त्यस्तै ग्लोबल आइएमई बैकले पनि देशभरका आफना शाखा कार्यालयबाट सुकिला नोट साट्ने व्यवस्थाको तयारी गरिरहेको जनाएको छ ।