असोज ४ शुक्रबार काठमान्डौ
सर्वसाधारणलाई बिमाको किस्ता तिर्नै धौ-धौ भएपछि सरेन्डर गर्नेको संख्या बढ्दै गएको जानकारहरू बताउँछन्। जबकी सरकारले बिमाको दायरा बढाउने नीति लिएको छ। तर, बीचैमा छाड्ने अर्थात् समर्पण (सरेन्डर) गर्नेको संख्या बर्सेनि लाख माथि पुग्न थालेको छ। बिमा सरेन्डर बढ्दा साढे १४ अर्बभन्दा बढी रकम बिमा कम्पनीहरूले एकै वर्षमा गुमाउनुपर्ने स्थिति सिर्जना भएको छ।
कानुनतः सुरुको ३ वर्षको प्रिमियम तिरेपछि बिमितले चाहेको खण्डमा छोड्न अर्थात् सरेन्डर गर्न पाउने व्यवस्था छ। यसअघि २ वर्ष थियो। तर, बिमा गरेको अवधि परिपक्व नहुँदै बीचमै छोड्दा बिमितले एकातर्फ जोखिम वहनबाट बञ्चित हुनुपर्छ भने अर्कोतर्फ प्रतिफल पनि नपाउने र तिरेकोभन्दा कम रकम हात पर्ने स्थिति हुन्छ। तर, बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरणको ४ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा बर्सेनि साढे १७ प्रतिशतदेखि साढे २९ प्रतिशतसम्मको सरेन्डर संख्या वृद्धि भएको छ।
बिमा प्राधिकरणका अनुसार विगत ४ आर्थिक वर्षमा जीवन बिमातर्फ ४९ अर्ब ९० करोड ६९ लाख ६० हजार रुपैयाँ बराबरको बिमालेख (इन्स्योरेन्स पोलिसी) व्यतित (सरेन्डर) भएको छ। सो अवधिमा ३ लाख ५६ हजार १०५ बिमितले बीचैमा छोड्दा झन्डै ५० अर्ब रुपैयाँ बिमा कम्पनीहरूले गुमाए।
चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनामै १० हजार २ सय ९२ जनाले सरेन्डर गरेका छन्। त्यसबापत बिमा कम्पनीबाट १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बाहिरियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ९७६ ओटा बिमालेख (इन्स्योरेन्स पोलिसी) व्यतित (सरेन्डर) भएको थियो। आर्थिक वर्ष ०७९/८० भन्दा रकमको हिसाबले ८.६८ प्रतिशत र संख्याको तुलनामा १७.५८ प्रतिशतले बढी हो।
४–५ वर्षयता सरेन्डर गर्नेको संख्या घटेको छैन, उल्टै बर्सेनि बढिरहेको छ। यसलाई बिमा कम्पनी र नियामक निकायले पनि स्विकार गरेका छन्। मुलुकको अर्थतन्त्र गतिशील नहुँदा बिमितलाई परेको आर्थिक संकटका कारण बीचैमा बिमा त्याग्ने बढेको विज्ञहरू बताउँछन्। जबकी बिमा गरेकाहरूले पैसा आवश्यक परेमा सोही बिमालेख धितो राखेर ऋण लिन पाउने व्यवस्था पनि छ। तर, यो विकल्प पनि रोज्न नसकेर छाड्ने तिर लाग्नु भनेको आर्थिक चरम संकट भएको बताउँछन्, बिमा कम्पनीहरू।

किन बढ्यो ?
बिमा विज्ञ रवीन्द्र घिमिरे आर्थिक अवस्था हात्तै घट्दा, युवाहरू विदेशीने क्रम बढ्दा र समयअवधिमै अभिकर्ता तथा कम्पनीले नवीकरणबारे थाहा नदिएका कारण सरेन्डर बढेको बताउँछन् । उनले कोभिड अवधिमा बिमा कम्पनीमा सरेन्डरबारे अध्ययन गरेका थिए। त्यस बेला अधिकांशले आयआर्जन हात्तै घटेको र आफूलगायत परिवारलाई रोग लागेर मर्ने त्रासले पनि बीचैमा बिमा नगरी पैसा झिक्ने गरेको बताएका थिए। ‘बिमा सरेन्डरलाई रोक्न कत्तिको छलफल हुन्छ?’ उनले भने, ‘यसबारे बिमा प्राधिकरणले कत्तिको चासो दिएको छ ? यसले पनि अर्थ राख्छ।’
सरेन्डर गर्दा फाइदा नहुने बताउँदै उनले बिमालाई नुनसँग तुलना गरे। ‘नुन धेरै खाइयो भने पनि धेरै असर गर्छ र खाएन भने पनि असर गर्छ,’ घिमिरेले भने, ‘अहिले बिमा कम्पनीहरूले ग्राहकको लाभका लागिभन्दा पनि आफ्नो फाइदाका लागि बिमा गर्छन्। ग्राहकको आवश्यकताअनुसारको बिमा भयो भने त्यसलाई निरन्तरता दिन्छन। तर, ग्राहकलाई बलजफती यत्ति बिमा गर्नै पर्यो भनेर गराएको छ भने एजेन्टको मन राख्न मात्रै बिमा गरिदिन्छ र सरेन्डर गर्ने थाहा भएपछि बीचमै छोड्छ।’






