जनकपुरधाम,०१ मंसिर । भंगहा नगरपालिका-५ स्थित भीमगढबाट यस वर्षको समा-चकेवा पर्वको विशेष प्रस्तुति जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा सम्पन्न भएको छ। स्थानीय महिला समूहद्वारा आयोजित यस कार्यक्रममा मिथिलाञ्चलको सांस्कृतिक पहिचान झल्किने समा-चकेवाको परम्परागत गीत र नृत्य प्रस्तुत गरियो।
समा-चकेवा पर्व, जो दिदी-भाइको पवित्र सम्बन्धलाई सम्मान गर्न मनाइन्छ, मिथिलाञ्चलको सांस्कृतिक गहना मानिन्छ। यस अवसरमा महिलाहरूले माटोका आकृतिहरू समा र चकेवा बनाएर विशेष विधिका साथ पूजा गर्ने परम्परा रहेको छ।
जानकी मन्दिरमा आयोजित यस विशेष प्रस्तुतिमा मिथिलाको पारम्परिक भेषभूषामा सजिएका स्थानीय महिला र युवतीहरूले सहभागिता जनाए। उनीहरूले गीतमार्फत दिदी-भाइको माया र बिछोडको भावनालाई कलात्मक शैलीमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले यस किसिमका प्रस्तुतिहरूले मिथिलाञ्चलको सांस्कृतिक पहिचानलाई देशभर पुर्याउन मद्दत गर्ने बताएका छन्। साथै, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने विश्वास गरिएको छ।






