जनकपुरधाममा छात्रवृत्तिबारे विवाद: चार दिनदेखि ठप्प विद्यालय अझै नखुल्ने संकेत

२०८१ मंसिर ७, शुक्रबार ०९:३२

जनकपुरधाम, मंसिर ६ । जनकपुरधाममा चार दिनदेखि ठप्प रहेको संस्थागत विद्यालय अझै सञ्चालनमा आउने संकेत देखिएको छैन। छात्रवृत्तिसम्बन्धी विवादका कारण संस्थागत विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्दै आएका छन्। विद्यालय सञ्चालनको प्रयासस्वरूप बिहीबार जनकपुरधाम उपमहानगरपालिका र संस्थागत विद्यालय संगठनबीच दुई घण्टाभन्दा लामो बैठक भए पनि वार्ता निष्कर्षविहीन टुंगिएको छ।

नेपाल विद्यार्थी संघले जनकपुरधाम उपमहानगरपालिकासँग गरेको सम्झौताको विरोध गर्दै विद्यालय संगठनले आन्दोलन थालेका थिए। उक्त सम्झौतामा भर्ना र अन्य शुल्क घटाउन तथा छात्रवृत्तिको व्यवस्था लागू गर्न सहमति भएको थियो। तर, संस्थागत विद्यालय संचालकहरुले उक्त सम्झौताले आफ्नो स्वायत्ततामा आँच पुर्याएको भन्दै आन्दोलन गरिरहेका छन्।

विद्यालय बन्दको विरोधमा नेविसंघले पनि सडक आन्दोलन गर्दै आएको छ। यो स्थिति नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिकाले सबै पक्षलाई वार्तामा बोलाए पनि सहमति जुट्न नसकेको उपमहानगरका एक अधिकारीले बताए।

यस विवादका कारण जनकपुरधामका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यार्थी, अभिभावक, र सरोकारवालाले दुवै पक्षलाई वार्ताद्वारा समस्या समाधान गर्न आग्रह गरेका छन्। तर, हालसम्म कुनै ठोस निष्कर्ष ननिस्कँदा समस्या झनै जटिल बन्दै गएको छ।

सम्बन्धित पक्षले तत्काल सहमति गरेर विद्यालय सञ्चालनमा ल्याउने पहल नगरेको खण्डमा शिक्षाको क्षेत्रमा गम्भीर समस्या निम्त्याउन सक्ने विश्लेषकहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?