काठमाडौं,१२ मंसिर । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने बहानामा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३९ वर्षीय सुवर्णकुमार बल र २८ वर्षीया मनीषा कुमारी छन्, जसले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोप लागेको हो। पक्राउ पर्ने सुवर्णकुमार बल मकवानपुरको बकैया गाउँपालिका–५ का निवासी हुन्, र अहिले काठमाडौंको नागार्जुन नगरपालिका–५, सीतापाइला क्षेत्रमा बसोबास गर्दै आएका छन्। मनीषा कुमारी सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ की निवासी हुन् र अहिले टोखा नगरपालिका–८ मा बसोबास गरिरहेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिँदै भने, “यी दुईजनाले बेरोजगार युवायुवतीलाई विदेशमा कामको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखेका थिए। उनीहरूले भनेका देशमा नपठाएपछि पीडितहरूको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो।”
पक्राउ परेका बल र कुमारीले यसरी ठगी गरेका बलले एकजनालाई क्रोएसिया पठाउने प्रलोभनमा रु १५ लाख रकम लिएको र मनीषाले अर्का एकजनालाई दुवई पठाउने बहानामा रु २ लाख ४५ हजार रकम लिई ठगी गरेको।
आरोपमा परेका दुबै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। अब उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।






