धनुषामा प्रेम सम्बन्धको विवादले युवतीको ज्यान लियो

२०८१ मंसिर १५, शनिबार ११:५८

जनकपुरधाम,१५ मंसिर । धनुषाको जनकनन्दिनी गाउँपालिका–५ उधाटोलकी २० वर्षीया रेखा कुमारी मण्डलको विवाह सम्बन्धमा उत्पन्न विवादले ज्यान गएको छ। उनको शव मंसिर ८ गते दिउँसो जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोरामा हालेर फालिएको अवस्थामा फेला परेको थियो।

प्रमुख आरोपीसहित तीन जनालाइ धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास, र शहीदनगर नगरपालिका–८ नाथपट्टीका २४ वर्षीय रमेश मण्डललाई पक्राउ गरेको छ। डीएसपी वरुणबहादुर सिंहका अनुसार घटनाको मुख्य आरोपी रामललित हुन्।

विवादको कारण, रेखा र रामललित चार वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, रेखाको परिवारले यो सम्बन्ध अस्वीकार गरेपछि समस्या सुरु भएको थियो। रेखाले घरबाट भागेर विवाह गर्न दबाब दिएकी थिइन्। तर, रामललितले नेपाली सेनामा जागिर खाने योजना राखेर विवाहलाई स्थगित गर्न खोज्दा विवाद चर्किएको थियो।

रामललितले साथीहरू ज्ञानेन्द्र र रमेशको सहयोगमा रेखालाई घटनास्थलमा बोलाएका थिए। त्यहाँ उनले ब्लेडको प्रयोग गरी रेखाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपीहरूमाथि अनुसन्धान जारी छ। घटनाले प्रेम सम्बन्ध र विवाहका विषयमा सामाजिक दबाबका कारण उत्पन्न समस्याहरूलाई गम्भीर रूपमा उठान गरेको छ।

धनुषाको यो हत्याकाण्डले समाजमा युवापुस्ताको प्रेम र परिवारबीचको तनावलाई पुनः उजागर गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?