जन्मदेखि दृष्टिविहीन ३ महिनाको बालकलाई जय मा जानकी समाज सेवाद्वारा रु ५१,१५५ सहयोग

२०८१ माघ ७, सोमबार १७:१२

महोत्तरी,०७ माघ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-८ बिर्ताका महेश मण्डल र आरती देवी मण्डलका ३ महिनाको छोरा जन्मदेखि नै दृष्टिविहीन छन्। कमजोर आर्थिक अवस्था भएका यस परिवारलाई सहयोग गर्न जय मा जानकी समाज सेवाले पहल गर्दै बालकको आँखा अपरेसनका लागि रु ५१,१५५ सहयोग प्रदान गरेको छ।

यस सहयोगको नेतृत्व जय मा जानकी समाज सेवा  नेपाल शाखाका सचिव उन्देश्वर रायले गरेका हुन्। कतार शाखाबाट उमेश कुमार यादव, लालबाबु साह, विनोद पासवान, जयनारायण साह, रामसिकिल यादव, गौरी यादव, सोनु मण्डल, र गणेश मण्डलले आफ्नो मासिक ज्यालाबाट रकम संकलन गरी सहयोग गरेका हुन्।

महेश मण्डल र आरती देवीको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। घर नभएका उनीहरू आफ्नो दाजुको घरमा दुई सन्तानसहित बसोबास गरिरहेका छन्। यो परिस्थितिलाई मध्यनजर गर्दै जय मा जानकी समाज सेवाले बालकलाई संसार देखाउने सपना साकार पार्न सानो तर महत्त्वपूर्ण सहयोग गरेको हो।

यस अवसरमा जय मा जानकी समाज सेवाका अध्यक्ष विरेन्द्र कुमार ठाकुर, कोषाध्यक्ष रोशनी देवी, सदस्य सीता देवी मण्डल, सकल देवी महरा, र वरिष्ठ सल्लाहकार राम चन्देश्वर ठाकुरको उपस्थिति रहेको थियो। अध्यक्ष ठाकुरले समाजका सदस्यहरूको योगदानलाई उच्च सम्मान गर्दै यस कार्यले मानवता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गरेको बताए।

यस महान कार्यमा सक्रिय सहभागिता जनाउने सबै सहयोगदाताहरूलाई समाजले विशेष धन्यवाद दिएको छ। बालकको स्वास्थ्य लाभ र उज्ज्वल भविष्यका लागि समाजले थप सहयोग गर्न प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?