ढोरपाटन (बागलुङ), १६ फागुनः बागलुङ र गुल्मी जोड्ने कुस्मिशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टाखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । विसं २०६५ मा सडक निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–९ र १० को सीमा क्षेत्रमा पर्ने रुम्टाखोलामा पुल निर्माण हुनसकेको थिएन, जसकारण बर्खाको समयमा यातायात ठप्प हुन्थे ।
सडक खुलेको १६ वर्षपछि गत वर्षदेखि यहाँ पुल निर्माण सुरु भएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले गत वैशाख ११ गते सूर्योदय कन्स्ट्रक्सन पर्वतसँग निर्माण सम्झौता गरेर विसं २०८३ वैशाख १० सम्म सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी दिपेश रिगलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माण गर्न थालिएको हो । हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण कम्पनीले यही गतिमा काम गरे सम्झौता मितिअगावै काम सम्पन्न हुने कार्यालय प्रमुख सक्ने रिगलले बताउनुभयो ।
रुम्टाखोलामा पुल बनेपछि जैमिनीसहित बरेङ गाउँपालिका र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि रुम्टाखोलामा बर्खाका समयमा वर्षौदेखि सास्ती खेप्नुपरेको र अब चाँडै यो समस्या समाधान हुने उहाँले बताउनुभयो । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।
“यहाँ पुल बनाउनका निम्ति हामीहरूले धेरै मेहनत ग¥यौँ, अहिले बल्ल पुल निर्माण सुरु भएको छ । यहाँ पुल नबन्दा बर्खाको समयको यात्रा निकै कष्टकर हुने गथ्र्यो, महिनौँ दिन गाडी बन्द हुने अवस्था थियो । पुल निर्माणपछि यो समस्या सदाका लागि अन्त्य हुनेछ”, उहाँले भन्नुभयो ।






