प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मधेशका ६४ ओटा सडक एकै पटक शिलान्यास

२०८२ जेष्ठ १८, आईतवार १८:०५

जनकपुर १८ जेष्ठ — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकांक्षी योजना अन्तर्गत ६४ वटा पक्की सडक आयोजनाको एकैपटक शिलान्यास गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको माध्यमबाट यी आयोजनाहरूको शिलान्यास गरे।

प्रदेश सरकारका अनुसार आठ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रहरूमध्ये प्रत्येकमा पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ। तीन वर्षभित्र कालोपत्रे सहित निर्माण सम्पन्न गरिने यस आयोजनाको लागत करिब १२ अर्ब ७० करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

प्रदेश सरकारले यस योजनालाई ऐतिहासिक उपलब्धिको रूपमा लिँदै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार स्रोत सुनिश्चित भइसकेको र ठेक्का प्रक्रिया पूरा भइसकेकाले निर्माण कार्य अब छिट्टै तीव्र गतिमा अघि बढ्नेछ।

मन्त्री यादवले जानकारी दिएअनुसार, यसअघि प्रारम्भ गरिएको ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण भइसकेको छ भने बाँकी कार्यलाई छिटो सम्पन्न गरिने लक्ष्य राखिएको छ। निर्माण हुने सडकहरू साढे पाँचदेखि सात मिटर चौडा हुनेछन्, र प्रत्येक निर्वाचन क्षेत्रमा एउटा पक्की पुल निर्माण गर्ने प्रक्रिया समेत अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

सडक निर्माणमा जलवायु परिवर्तनको प्रभाव न्यून गर्न वातावरणमैत्री प्रविधिको प्रयोग गरिनेछ। मन्त्री यादवले यो योजना मधेसका दुर्गम गाउँहरूलाई यातायात सञ्जालमा जोड्ने, व्यापार विस्तार गर्ने तथा स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?