आफ्नै पार्टीका शहीदप्रति मन्त्रीहरुको अवहेलना ?

२०८२ असार १७, मंगलवार १०:४४

जनकपुरधाम असार १७– जनमत पार्टीका नेता तथा मन्त्रीहरूमाथि आफ्नै पार्टीका एक मात्र शहीद राम मनोहर यादवको अपमान गरेको गम्भीर आरोप लागेको छ। पार्टीकै नेतृत्त्वमा रहेको मधेश प्रदेश सरकारका दुई मन्त्रीले शहीद यादवको नाममा ‘मजाकसरह’ बजेट विनियोजन गरेको भन्दै पार्टीभित्रै विरोध चुलिएको छ।

पार्टीका सचिव बीपी साहका अनुसार, शहीद यादवको योगदानलाई सम्मान गर्नुपर्ने बेलामा बजेटमार्फत उल्टै उनको अपमान गरिएको छ। स्वराज आन्दोलनका क्रममा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदै गर्दा पक्राउ परेका राम मनोहर यादवको सोही क्रममा हत्या भएको थियो। उनी जनमत पार्टीका एक मात्र औपचारिक शहीद हुन्।

तर, मधेश सरकारमा सहभागी जनमत पार्टीका मन्त्रीहरुले यादवको नाममा जम्मा २० लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्, त्यो पनि दुईवटा ‘टुक्रे’ योजनामा विभाजित गरेर। सचिव साहको भनाइमा, यी योजनाहरू कार्यान्वयन हुने सम्भावना अत्यन्त न्यून छ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका मन्त्री तथा पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहाले शहीद यादवको नाममा भवन निर्माणको नाममा मात्र ५ लाख रुपैयाँ छुट्याएका छन्। अर्कोतर्फ, वन तथा वातावरण मन्त्रालयका मन्त्री तथा पार्टी सचिव संजय यादवले ‘शहीद राम मनोहर यादव स्मृति पार्क’लाई निरन्तरता दिने नाममा १५ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्। जबकि अघिल्लो वर्ष सोही आयोजना अन्तर्गत पूर्व मन्त्री त्रिभुवन साहले १ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए।

बीपी साह आक्रोशित देखिन्छन्। उनी भन्छन्, “एक मात्र शहीदलाई सम्मान गर्न नसक्ने पार्टीले अरु कुरा कसरी गर्छ? कांग्रेस, एमाले, माओवादी सबैले आफ्ना नेताहरूको नाममा ठूला आयोजना ल्याउँछन्। तर, हाम्रो आफ्नै मन्त्रीहरुलाई चाहिँ आफ्नो शहीदको नाममा बजेट राख्न कसले रोक्यो?”

सचिव साहले मन्त्रीहरूलाई पार्टी र जनसमक्ष जवाफ दिन आग्रह गर्दै चेतावनी दिएका छन्, “यदि यथाशीघ्र सुधार नभए, कार्यकर्ताहरू आफैंले अब मूल्यांकन गर्ने छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?