सप्तरी,२९ असार चन्दन रजक– डिभिजन वन कार्यालय सप्तरीले जिल्लाका सञ्चारकर्मीलाई वन क्षेत्रको अनुगमन गराएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न विकास योजना तथा नियमित गतिविधिको जानकारी दिन कार्यालयले फतेपुर आसपासको वन क्षेत्रमा सञ्चारकर्मीको टोलीलाई अवलोकन गराएको हो।
डिभिजन वन अधिकृत सुभाष चन्द्र दासका अनुसार फतेपुर क्षेत्रमा निर्माणधीन पार्क, ट्रीहाउस, पोखरी, गोलघर तथा बाटो निर्माण कार्यहरू सम्पन्न हुने क्रममा छन्। साथै वृक्षारोपण कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ।
उनले सञ्चारकर्मीलाई वन अतिक्रमण, काठ तस्करी नियन्त्रण तथा मुद्दा प्रक्रियामा रहेका विषयबारे समेत विस्तृत जानकारी गराएका थिए। अतिक्रमण हटाउने अभियान र त्यससँग सम्बन्धित समस्या समाधानका उपायबारे समेत छलफल गरिएको थियो।
अवलोकन टोलीमा डिभिजन वन प्रमुख दाससहितका अधिकारी, कर्मचारी र जिल्लाका सञ्चारकर्मी सहभागी थिए। अनुगमन भ्रमणबाट सञ्चारकर्मीले जिल्लामा भइरहेको वन संरक्षण प्रयासबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन्।






