जनकपुरको गेस्ट हाउसमा युवकमाथि रहस्यमय हमला, उपचारको क्रममा मृत्यु

२०८२ श्रावण ५, सोमबार ००:०५

जनकपुरधाम, ४ साउन — जनकपुरधाम उपमहानगरपालिका–२३, बेला पुल नजिक रहेको ‘होटल एसपी एण्ड गेस्ट हाउस’मा एक युवकमाथि रहस्यमय हमला भएको छ। महोत्तरी गाउँपालिका–१ पर्सा निवासी २८ वर्षीय विमलेश यादवको उपचारको क्रममा निधन भएको धनुषा प्रहरीले जनाएको छ।

शनिबार राति ९:५५ बजे विमलेश यादव एक युवतीसहित सो होटलमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिन्छ। राति करिब २:५७ बजे होटलको पहिलो तलाबाट उनी नग्न र रगताम्य अवस्थामा तल खसेका छन्। त्यसको करिब पाँच मिनेटपछि संगै रहेकी युवती फरार भइरहेको क्यामरामा देखिन्छ।

घटनापछि प्रहरी टोली होटलमा पुगेको थियो। त्यसबेला विमलेश होशमा थिए र हिँडेरै एम्बुलेन्समा चढेको दृश्य क्यामरामा कैद भएको प्रहरीले जनाएको छ। तर प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?