सप्तरीसहित मिथिला क्षेत्रमा चौरचन पर्वको रौनक

२०८३ भाद्र २९, सोमबार २१:३१

सप्तरी राजविराज ,चन्दन रजक : सप्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ। मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने प्रमुख पर्वका रूपमा चौरचन मनाउने गरिन्छ। यस अवसरमा मिथिलाका बासिन्दा आ–आफ्ना परम्परा अनुसार चाडपर्व मनाउँदैछन्।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार पिरुकिया, खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केरासहित विभिन्न फलफूल चढाउने परम्परा छ। पर्वका लागि मैथिल हिन्दू परिवारमा आवश्यक सामग्री जुटाउने र तयारी गर्ने क्रम चलिरहेको छ।

यस पर्वमा घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेपछि व्रत समापन गर्ने परम्परा छ। व्रतालुले एक दिनअघि नै व्रतको सङ्कल्प गरी चोखोनितो भएर बस्ने तथा सात्त्विक भोजन गर्ने चलन रहेको छ।

भदौ शुक्ल चतुर्थीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर तयार पारिएको आँगनको बीच भागमा अरिप्पन (चतुष्कोण यज्ञस्थल) बनाइन्छ। त्यहाँ दीप प्रज्वलन गरी घरमूली व्रतालुले फलफूल तथा मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा छ।

खासगरी खिर, पुरी, दही, केरा तथा मौसम अनुसारका फलफूल र अन्य परिकार चन्द्रमालाई देखाइन्छ। त्यसपछि इष्टजन तथा परिवारका सदस्यलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि चौरचन पर्व सम्पन्न गर्ने परम्परा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?