जनकपुरधाम साउन ०५ — महोत्तरीको महोत्तरी गाउँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ स्थित होटल एसपी एण्ड गेष्टहाउसमा यादवमाथि छुरा प्रहारपछि उनलाई एक तल्लाबाट खसालिएको थियो।
हत्या आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए। झालाई महोत्तरीको परोलस्थानबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार, आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्धका कारण घटना घटेको खुल्न आएको छ।
प्रहरीका अनुसार झाले यादवमाथि छुरा प्रहार गरेपछि उनलाई होटलको पहिलो तलाबाट भुइँमा खसालेकी थिइन्। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिए पनि आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको थियो।
घटनास्थलको सीसीटीभी फुटेजमा राति करिब १० बजे यादव होटलमा प्रवेश गरेको देखिन्छ भने बिहान ३:५० बजे रगताम्य अवस्थामा उनी भुइँमा खसेको दृश्य स्पष्ट छ। केही समयपछि अभियुक्त झा सीढी हुँदै तल झरेर फरार भएको दृश्य पनि फुटेजमा कैद भएको प्रहरीले जनाएको छ।
हाल झालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन्






