सनोज यादब ,सिन्धुली, साउन ६ – सिन्धुली, नेपाल: सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा अवस्थित मधुगंगा महादेव मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा चिनिन्छ। “लंगुर खोला” नामले पनि परिचित यो पवित्र स्थल हिन्दू धर्मावलम्बीहरूका लागि भगवान शिवको विशेष भक्ति केन्द्र हो।
यो मन्दिर एक प्राकृतिक गुफाभित्र अवस्थित छ, जहाँ मधुगंगा नामक सानो नदी बग्दछ। यसै नदीको नामबाट यस स्थानको नामाकरण भएको हो। गुफाभित्र रहेको प्राचीन शिवलिङ्गको दर्शन गर्नका लागि नेपालका विभिन्न भूभागका साथै छिमेकी भारतबाट पनि हजारौं भक्तजनहरू यहाँ आउने गर्छन्। उनीहरूको अटुट आस्था र विश्वासले यो स्थलको धार्मिक महत्वलाई अझ बढाएको छ।
मधुगंगा महादेव मन्दिर धार्मिक पर्यटनका लागि मात्र नभएर प्राकृतिक छटाका लागि पनि प्रख्यात छ। घना जङ्गल, हरियाली पहाड र स्वच्छ वातावरणले भरिपूर्ण छ। यहाँ आउने भक्तजन तथा पर्यटकहरू एक-दुई दिन बसेर यस रमणीय वातावरणमा डुब्न रुचाउँछन्।
प्रकृतिको नजिक रही शान्ति र आनन्दको अनुभव गर्न चाहनेहरूका लागि यो एक उत्तम गन्तव्य हो।
मधुगंगा महादेव मन्दिरले धार्मिक महत्त्वका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। स्थानीय सरकार र सरोकारवाला निकायले यसको संरक्षण र विकासमा थप ध्यान दिएमा यो स्थल अझ बढी लोकप्रिय धार्मिक तथा पर्यटकीय केन्द्र बन्न सक्ने देखिन्छ।






